एनपीएलमा आज कर्णाली–सुदूरपश्चिम र चितवन–पोखरा भिड्दै
काठमाडौँ, २० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
दिउँसो साढे १२ बजे सुरु हुने खेलमा कर्णाली तेस्रो जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम पनि जित निकाल्दै तालिकामा आफ्नो स्थान सुधार्न चाहन्छ ।
तीन खेल खेलेको कर्णालीले दुईमा जित र एकमा हार बेहोरेको छ । ऊ अंक तालिकाको तेस्रो स्थानमा छ । चार खेल खेलेको सुदूरपश्चिमले दुईमा जित र दुईमा हार बेहोर्दै छैटौँ स्थानमा रहेको छ ।
आजै दिउँसो साढे ४ बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच दोस्रो खेल हुनेछ ।
तीन खेल खेलेको चितवनले एकमा जित र एकमा हार बेहोरेको छ भने वर्षाका कारण एक खेल रद्द भएपछि अंक बाँडेको छ । ऊ तालिकाको सातौँ स्थानमा छ । पोखरा भने तीन खेलमा पराजित हुँदै अंक तालिकाको पुछारमा छ ।
