सर्वोच्चका प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सुरु, उजुरीकर्तासँग छलफल हुँदै
काठमाडौं, २० कात्तिक । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ सुरु भएको छ। संसदीय सुनुवाइ समितिले सुरुमा प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिनेहरूसँग छलफल गरिरहेको छ।
समितिको कार्यसूचीअनुसार उजुरीकर्तासँगको छलफलपछि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूलाई समितिसमक्ष उपस्थित गराएर सुनुवाइ गर्ने कार्यक्रम छ।
गत २० असोजमा बसेको न्यायपरिषद् बैठकले बागचन्द र सारूसहित जनक पाण्डे तथा गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो।
हाल समितिले पाण्डेविरुद्ध उजुरी दिनेहरूसँग छलफल गरिरहेको छ। उजुरीकर्ताहरूले झापाको दमकस्थित सार्वजनिक जग्गा हिनामिनासम्बन्धी प्रकरणमा पाण्डेकी श्रीमती माया पुरी पाण्डेको समेत संलग्नता रहेको दाबी गर्दै उनको नाम अनुमोदन गर्न नहुने तर्क गरेका छन्।
पाण्डेकी श्रीमती माया पुरी पाण्डेसहित उनकी सासु देवरुपा पुरी, सालो रेवत राज (गगन) पुरी र गगनकी पत्नी केशावती पुरीविरुद्धको भ्रष्टाचार मुद्दासमेत सर्वोच्च अदालतमा विचाराधीन रहेको समाचारमा उल्लेख छ।
