सामाजिक सुरक्षा भत्ता हिनामिनाको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, २० कात्तिक । ओखलढुङ्गाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अनियमितता भएको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो। अनुसन्धानपछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी र अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी, एमआईएस अपरेटर खिला विक तथा तत्कालीन वडा अध्यक्ष शुकविर तामाङको संलग्नतामा रकम हिनामिना भएको निष्कर्ष निकालिएको आयोगले जनाएको छ।
आयोगका अनुसार प्रतिवादीहरूले आपसी मिलेमतोमा वडा अध्यक्ष तामाङको दायाँ हातको बुढीऔँठाको छाप ३६० पटक प्रयोग गरी दुई आर्थिक वर्षका तीन–तीनवटै चौमासिकमा सामाजिक सुरक्षा भत्ताबापत २९ लाख १५ हजार २०० रुपैयाँ भुक्तानी लिएका थिए।
त्यस्तै, लाभग्राहीको नामावलीमा दोहोरो नाम समावेश गरी रकम वितरण गरेको देखाइएको, मृत्यु भएका लाभग्राहीको लगत कट्टा नगरेको तथा आर्थिक वर्ष २०७५/७६ मा बसाइँसराइ गरी अन्यत्र गइसकेका व्यक्तिको नामसमेत कायम राखेर भत्ता वितरण गरेको देखाइएको आयोगको दाबी छ। गलत विवरणसहितका अभिलेखका आधारमा पेस्की फर्छ्योट गराई थप दुई लाख ५२ हजार रुपैयाँ हिनामिना गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीविरुद्ध नौ लाख ५३ हजार ६०० रुपैयाँ, अभयकुमार गुप्ताविरुद्ध ११ लाख ६७ हजार २०० रुपैयाँ र निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरीविरुद्ध सात लाख ९४ हजार ४०० रुपैयाँ बिगो कायम गरेको छ। त्यस्तै, तत्कालीन वडा अध्यक्ष शुकविर तामाङ र एमआईएस अपरेटर खिला विकविरुद्ध जनही ३१ लाख ६७ हजार २०० रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरिएको छ।
पाँचै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम सार्वजनिक सम्पत्ति हिनामिनासम्बन्धी कसुर तथा दफा ११ बमोजिम सरकारी अभिलेख बदनियतपूर्वक हेरफेर गरेको कसुरमा सजायको मागदाबी गरिएको छ।
आयोगले बिगो असुलउपर गर्न, बिगोबमोजिम जरिवाना तथा कानुनबमोजिम कैद सजाय गर्न माग गर्दै बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
