पोखरालाई ३० रनले हराउँदै चितवन तेस्रो स्थानमा
काठमाडौँ, २० कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गर्दै दोस्रो जित निकालेको छ ।
चितवनले दिएको १५२ रनको लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा १२१ रनमै अलआउट भयो । चार खेलमा दुई जित निकालेको चितवन पाँच अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पोखरा भने लगातार चौथो हारसँगै अंकविहीन हुँदै पुछारमा छ ।
पोखराका लागि अर्जुन कुमालले सर्वाधिक ४५, युवराज सम्राले १९ तथा किरण ठगुन्ना र अर्जुन घर्तीले समान १२ रन बनाए ।
चितवनका रिजन ढकालले चार विकेट लिए भने कमलसिंह ऐरीले तीन विकेट झारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो । कप्तान सिकन्दर राजाले ३७, रवि बोपाराले ३५, अर्जुन साउदले ३१ र डाविड मालानले २८ रन बनाए ।
पोखराका चमिका करुणारत्ने, विपिन खत्री र कुशल भुर्तेलले समान दुई विकेट लिए ।
