तिहारमा महँगियाे झिलिमिली बत्ती, कच्चा पदार्थ, डलर र ढुवानी खर्च बढेपछि मूल्यमा दबाब

काठमाडौँ, २१ कात्तिक । तिहार नजिकिँदै गर्दा नेपाली बजारमा झिलिमिली बत्तीको मूल्य बढेकाे छ। कच्चा पदार्थको मूल्य, अमेरिकी डलरको विनिमय दर र ढुवानी खर्चमा भएको वृद्धिका कारण यस वर्ष झिलिमिली बत्तीलगायत विद्युतीय सामग्री महँगिएका हुन्।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोजसम्म) ६४ करोड ५२ लाख रुपैयाँ बराबरका २८ लाख ५९ हजार थान झिलिमिली बत्ती आयात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा ५९ करोड ६५ लाख रुपैयाँ बराबरका ३८ लाख ९२ हजार थान बत्ती आयात भएका थिए।

यसअनुसार गत वर्षको तुलनामा यस वर्ष झिलिमिली बत्ती आयातको मूल्य करिब ८ प्रतिशतले बढेको छ भने परिमाण करिब २७ प्रतिशतले घटेको छ। अर्थात् कम परिमाणमा बत्ती आयात हुँदा पनि त्यसका लागि बढी रकम खर्च गर्नुपरेको देखिन्छ।

नेपाल विद्युतीय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष सुदर्शनप्रसाद पौडेलका अनुसार स्रोत बजारमै कच्चा पदार्थको मूल्य बढेकाले नेपाली बजारमा विद्युतीय सामग्री महँगिएको हो। विद्युतीय सामग्री उत्पादन तथा आयातमा प्रयोग हुने अधिकांश कच्चा पदार्थ चीनबाट र केही भारतबाट आउने गरेका छन्। चीनबाटै सामग्रीको मूल्य बढेर आएकाले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको उनको भनाइ छ।

विशेषगरी झिलिमिली बत्तीमा प्रयोग हुने तामाको तार र बाहिरी आवरणमा प्रयोग गरिने प्लास्टिकको मूल्य बढेको पौडेलले बताए। उनका अनुसार विद्युतीय सामग्रीको मूल्य अघिल्लो वर्षको तुलनामा १५ देखि २० प्रतिशतसम्म बढेको छ।

कच्चा पदार्थको मूल्यवृद्धिसँगै अमेरिकी डलरको विनिमय दर बढ्दा पनि आयात लागत थपिएको छ। डलरको मूल्य बढेकाले विदेशी बजारबाट सामग्री खरिद गर्दा व्यवसायीले अघिल्लो वर्षभन्दा बढी रकम तिर्नुपरेको उनले बताए।

ढुवानी खर्चमा भएको अस्वाभाविक वृद्धिले पनि मूल्य बढाउन भूमिका खेलेको छ। पौडेलका अनुसार अघिल्लो वर्ष चीनबाट एउटा कन्टेनर ल्याउँदा २ हजारदेखि २ हजार २०० अमेरिकी डलरसम्म ढुवानी खर्च लाग्थ्यो। अहिले ६ हजार डलर तिर्दासमेत कन्टेनर पाउन सहज छैन। यसरी ढुवानी खर्च करिब तीन गुणासम्म बढ्दा आयातित सामग्रीको लागत पनि उल्लेख्य रूपमा बढेको छ।

त्यस्तै चीनसँग जोडिएको केरुङ नाकाबाट नियमित रूपमा सामान आयात गर्न नसक्दा व्यवसायी थप समस्यामा परेका छन्। केरुङ नाका प्रयोग गर्दा तुलनात्मक रूपमा कम ढुवानी खर्च लाग्ने भए पनि अहिले वीरगन्जलगायत अन्य नाका हुँदै घुमाएर सामान ल्याउनुपर्ने अवस्था छ। यसले आयातको समय र लागत दुवै बढाएको उनको भनाइ छ।

पौडेलका अनुसार बजारमा विद्युतीय सामग्रीको माग रहे पनि आपूर्ति सहज छैन। अघिल्लो वर्षको तुलनामा यस वर्ष व्यवसायीसँग पर्याप्त मौज्दातसमेत छैन। लागत बढेर मूल्य महँगिए पनि कारोबारको परिमाण भने सोही अनुपातमा बढ्न सकेको छैन।

कच्चा पदार्थ र डलरको मूल्यवृद्धि, ढुवानी खर्चमा भएको वृद्धि तथा आपूर्ति व्यवस्थामा देखिएको समस्याले यस वर्षको तिहारमा उपभोक्ताले झिलिमिली बत्ती महँगो मूल्यमा खरिद गर्नुपर्ने देखिएको छ। मागअनुसार पर्याप्त आपूर्ति हुन नसके मूल्य र उपलब्धता दुवैमा थप दबाब पर्न सक्ने व्यवसायीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *