लुम्बिनीलाई हराउँदै काठमाडौँको लगातार तेस्रो जित

काठमाडौँ, २१ कात्तिक । डेविड वार्नरको अर्धशतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा साविक विजेता लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको छ।

काठमाडौँले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमै समेटियो। लुम्बिनीका सन्दीप जोराले सर्वाधिक ४४ रन बनाए। काठमाडौँका जहानदाद खानले चार तथा करण केसीले दुई विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको काठमाडौँले २० ओभरमा आठ विकेट गुमाएर १६० रन बनाएको थियो। वार्नरले ६६, साहिल पटेलले ३८ र सहान अराचिगेले अविजित ३४ रन बनाए।

जितसँगै चार खेलबाट ६ अंक जोडेको काठमाडौँ अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पाँच खेलबाट सात अंक रहेको लुम्बिनी भने शीर्ष स्थानमै छ। यस हारसँगै लुम्बिनीको अपराजित यात्रा टुङ्गिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *