तिहारका लागि पोखरा आइपुगे ७०० च्याङ्ग्रा

कास्की, २१ कात्तिक । तिहार नजिकिँदै गर्दा मुस्ताङ, डोल्पा र मुगुलगायत हिमाली जिल्लाबाट व्यापारी भेँडाच्याङ्ग्रा लिएर पोखरा झरेका छन्। पोखरा महानगरपालिका–१ सिमपानीमा सात–आठ स्थानबाट भेँडाच्याङ्ग्राको बिक्री भइरहेको छ।

मुस्ताङका व्यापारी पेम्बा छिरिङका अनुसार तिहारका लागि मुस्ताङबाट ७०० च्याङ्ग्रा पोखरा ल्याइएको छ। रोज्जा च्याङ्ग्राको मूल्य ४० हजार रुपैयाँसम्म रहेको उनले बताए।

डोल्पाका सन्तोष धराला १५० च्याङ्ग्रा लिएर पोखरा पुगेका छन् भने मुगुका उदीम भाम पनि भेँडाच्याङ्ग्रा बिक्रीका लागि पोखरा आएका छन्। व्यापारीका अनुसार दसैँको तुलनामा तिहारमा च्याङ्ग्राको माग कम हुने भए पनि यस वर्ष अघिल्ला वर्षभन्दा बढी सङ्ख्यामा पोखरा भित्रिएका छन्।

हिमाली क्षेत्रबाट च्याङ्ग्रा ल्याउन लामो यात्रा गर्नुपर्ने भएकाले ढुवानी, खाना र बासमा ठूलो खर्च हुने व्यापारी बताउँछन्। मुस्ताङबाट म्याग्दी, बागलुङ र पर्वत हुँदै पोखरा ल्याइएका च्याङ्ग्रा यहाँबाट काठमाडौँसम्म पनि पठाउने गरिएको छ।

चाडपर्वका बेला च्याङ्ग्राको मासुको माग बढ्ने भएकाले हिमाली जिल्लाका व्यापारीले दसैँ र तिहारलाई लक्षित गरी बिक्री गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *