इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
काठमाडौँ, २२ कात्तिक । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोल पम्पनजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई गएराति पौने १२ बजे ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्याइएको थियो। तर, चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।
मृतक दुवै जनाको पहिचान खुल्न सकेको छैन। दुर्घटनापछि फरार रहेका ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
