दैलेखमा एक व्यक्तिले हँसिया प्रहार गर्दा सुत्केरी र नाबालिकासहित पाँच घाइते
दैलेख, २२ कात्तिक । दैलेखमा एक व्यक्तिले छिमेकीको घरमा पसेर हँसिया प्रहार गर्दा एकै परिवारका पाँच जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
ठाँटीकाँध गाउँपालिका–४ धनकोटका ३७ वर्षीय बमबहादुर रावतले आइतबार बिहान करिब ५ बजे छिमेकी चन्द्रबहादुर पुन मगरको घरमा प्रवेश गरी परिवारका सदस्यहरूमाथि अन्धाधुन्ध हँसिया प्रहार गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार आक्रमणबाट चन्द्रबहादुरकी ४५ वर्षीया श्रीमती बिमा मगर, भाइबुहारी २५ वर्षीया महेसरा पुन, छोरीहरू २० वर्षीया लक्ष्मी पुन र २३ वर्षीया तिला पुन मगर घाइते भएका छन्। त्यस्तै, सुत्केरी तिलाकी तीन महिनाकी छोरी जानकी रोक्का मगरसमेत घाइते भएकी छन्।
प्रहरीका अनुसार तिला, बिमा र महेसराको अवस्था गम्भीर छ। अन्य घाइतेको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ।
घाइते सबैलाई सुरुमा ठाँटीकाँध–१ स्थित लकान्द्र स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो। स्वास्थ्य अवस्था जटिल बनेपछि गाउँपालिकाको पहल र जिल्ला प्रशासन कार्यालयको समन्वयमा आइतबार दिउँसो १ बजे हेलिकोप्टरमार्फत तीन जनालाई थप उपचारका लागि सुर्खेत लगिएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रावतलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। आक्रमणको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
