राइफलको गोलीसहित एक जना पक्राउ : जुवा खेल्ने नौ जना पनि समातिए
काठमाडौँ, कात्तिक २२ । प्रहरीले थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित काठमाडौँको कलङ्कीबाट एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका १४ स्थित कलङ्की चोकमा शङ्कास्पद अवस्थामा हिँडिरहेको अवस्थामा प्रहरीले तनहुँको व्यास नगरपालिका ११, दमौलीका ४२ वर्षीय सुरेन्द्र नेपालीलाई पक्राउ गरेको हो । उहाँको साथबाट राइफलमा प्रयोग हुने एक राउण्ड गोली फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
नेपालीविरुद्ध हातहतियार तथा खरखजाना मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, प्रहरीले बालुवाटारस्थित एक रेस्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा नौ जनालाई पक्राउ गरेको छ ।
तास खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरूको साथबाट नौ बुक तास, छ लाख ८५ हजार रुपैयाँ र १० थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।
