इजिप्टमा दुई रेल आपसमा ठोक्किँदा चार जनाको मृत्यु, दर्जनौँ घाइते

कायरो, २२ कार्तिक । इजिप्टमा दुईवटा रेल आपसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने करिब ९० जना घाइते भएका छन्। इजिप्टको स्वास्थ्य मन्त्रालयले दुर्घटनामा मृत्यु र घाइते भएको पुष्टि गरेको हो।

इजिप्टको राजधानी कायरोनजिक गिजा क्षेत्रमा पर्ने काफ्र अमार र अल–रक्का स्टेसनबीच दुर्घटना भएको इजिप्टियन नेसनल रेलवेज अथोरिटीले जनाएको छ। पछाडिबाट आएको एक रेल अर्को रेलसँग ठोक्किँदा केही डिब्बा पटरीबाट खसेका थिए।

दुर्घटनापछि घाइतेको उद्धार तथा उपचारका लागि दर्जनौँ एम्बुलेन्स परिचालन गरिएको थियो। दुर्घटनास्थलमा रेलका भग्नावशेष हटाउन क्रेनसमेत प्रयोग गरिएको अधिकारीहरूले बताएका छन्। दुर्घटनाका कारण रेल सेवा पनि प्रभावित भएको थियो।

अफ्रिका र मध्यपूर्वकै सबैभन्दा पुरानो मानिने इजिप्टको रेल प्रणालीमा यसअघि पनि ठूला दुर्घटना भएका छन्। यसअघि राजधानी कायरोस्थित रामसेस मुख्य स्टेसननजिक रेल नियन्त्रण गुमाएर दुर्घटनाग्रस्त हुँदा आगलागी भएको थियो, जसमा २५ जनाको मृत्यु भएको थियो।

त्यस्तै, सन् २०१७ मा अलेक्जान्ड्रियातर्फ जाँदै गरेको एउटा रेल पटरीबाट खसेर अर्को रेलसँग ठोक्किँदा ४० भन्दा बढी जनाको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *