युवराज सम्राको विस्फोटक शतकमा पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य

काठमाडौं, २३ कात्तिक । युवराज सिंह सम्राको शतक र कुशल भुर्तेलको अर्धशतकको मद्दतमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई २१८ रनको विशाल लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाएको हो। यससँगै पोखरा यस सिजन एनपीएलमा २०० रनको आँकडा पार गर्ने पहिलो टोली बनेको छ।

पोखराका लागि युवराजले आक्रामक ब्याटिङ गर्दै ४८ बलमा १० चौका र ६ छक्काको मद्दतमा १०२ रन बनाए। उनले ४५ बलमै शतक पूरा गरेका थिए। यस सिजन एनपीएलमा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी बनेका छन्।

यस्तै, कुशल भुर्तेलले ३९ बलमा ७ छक्कासहित ६२ रनको योगदान दिए। सम्रा र भुर्तेलबीच दोस्रो विकेटका लागि १३६ रनको शतकीय साझेदारी भयो। यो साझेदारी यस सिजनको उच्च साझेदारी हुनुका साथै एनपीएल इतिहासकै सबैभन्दा ठूलो साझेदारी बनेको छ।

यसअघि एनपीएलको पहिलो संस्करणमा पोखराकै आन्द्रे गौस र दिनेश खरेलले लुम्बिनी लायन्सविरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए।

एनपीएलमा सम्राको यो दोस्रो खेलमै पहिलो शतक हो। उनी एनपीएलमा शतक प्रहार गर्ने पोखराका तेस्रो तथा समग्रमा चौथो खेलाडी बनेका छन्। यसअघि पोखराका आन्द्रे गौस र एडम रोसिङटनले शतक बनाएका थिए।

पोखराका कप्तान चमिका करुणारत्नेले पनि आक्रामक ब्याटिङ गर्दै ११ बलमा ३ चौका र ३ छक्कासहित अविजित २५ रन बनाए। सन्नी विक ३ रनमा अविजित रहे।

कर्णालीका कप्तान सोमपाल कामीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए भने मार्क वाटले एक विकेट हात पारे।

यसअघि एनपीएलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध सन् २०२५ मा बनाएको २२० रन प्रतियोगिताकै उच्च स्कोर हो। पोखराको २१७ रन एनपीएल इतिहासको दोस्रो ठूलो स्कोर हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *