दैलेख जिप दुर्घटना अपडेट : उपचारका क्रममा चालकसहित दुई जनाको मृत्यु
दैलेख, २३ कात्तिक । दैलेखको गुराँस गाउँपालिका–१ स्थित काफलतोलीमा भएको जिप दुर्घटनामा घाइते भएका छ जनामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–७ का २२ वर्षीय चालक योगेश सिम्खडा र सोही गाउँपालिका–६ का ४१ वर्षीय यात्रु रने सार्की रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार दुवै जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो।
कालीकोटबाट विषादी सेवनका बिरामी लिएर सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२–००१ च १२१५ नम्बरको बोलेरो जिप सोमबार काफलतोलीमा दुर्घटनामा परेको थियो। दुर्घटनामा सिम्खडा र सार्कीसहित छ जना घाइते भएका थिए।
दुर्घटनामा घाइते भएका १८ वर्षीय गंग सार्की, २१ वर्षीय तपेन्द्र सिम्खडा, जादुकला सार्की र २७ वर्षीय कैसी सार्कीको उपचार भइरहेको प्रहरीले जनाएको छ।
