जुवातास खेल्दै गरेका १०७ जना पक्राउ : २५ लाख रुपैयाँ बरामद
काठमाडौँ, कात्तिक २३ । देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १०७ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट करिब २५ लाख रुपैयाँसमेत बरामद गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जुवातास खेलिरहेको अवस्थामा सुर्खेतबाट ४१, सर्लाहीबाट २६, धनुषाबाट १८, ललितपुरबाट ११ र काभ्रेपलाञ्चोकबाट ११ जना पक्राउ परेका हुन् ।
प्रहरीले पक्राउ परेकाहरूबाट जुवामा प्रयोग भइरहेको नगद बरामद गरेको जनाएको छ ।
जुवातासले आर्थिक क्षति निम्त्याउनुका साथै पारिवारिक तथा सामाजिक सम्बन्धमा समेत नकारात्मक असर पार्न सक्ने भएकाले यस्ता गतिविधिविरुद्ध प्रहरीले निगरानी र कारबाहीलाई निरन्तरता दिँदै आएको छ ।
