पटाका नियन्त्रण गर्न प्रहरीको गस्ती र निगरानीमा कडाइ

काठमाडौँ, कार्तिक २४ । तिहार तथा आगामी छठ पर्वलाई लक्षित गरी पटाका पड्काउने क्रम बढ्न थालेपछि पर्सा प्रहरीले पटाका तथा विस्फोटक पदार्थको ओसारपसार, बिक्रीवितरण र प्रयोग नियन्त्रण गर्न निगरानी र गस्ती बढाएको छ ।

पटाका पड्काउने क्रममा निस्किएको छर्रा लागेर बालकको मृत्यु भएपछि प्रहरीले नियन्त्रण अभियानलाई थप कडाइ गरेको हो । गत सोमबार पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२, मधुबनीमा पटाकाको छर्रा लागेर पाँच वर्षीय बालक कुन्दन सहनीको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भित्र्याइने पटाका तथा विस्फोटक पदार्थको ओसारपसार, बिक्रीवितरण र प्रयोग नियन्त्रण गर्न विशेष गस्ती तथा निगरानी बढाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार चाडपर्वका समयमा ग्रामीण बस्ती तथा बजार क्षेत्रमा पटाका सहजै उपलब्ध हुने जोखिम रहेकाले प्रहरी प्रशासनले नियन्त्रण र निगरानी संयन्त्रलाई सक्रिय बनाएको छ । त्यसका लागि सीमावर्ती क्षेत्रदेखि ग्रामीण बस्तीसम्म प्रहरी परिचालन गरी निगरानी बढाइएको उहाँले बताउनुभयो ।

प्रहरीले यसअघि पनि चाडपर्वका समयमा पटाका तथा विस्फोटकजन्य सामग्रीको प्रयोग नगर्न सर्वसाधारणलाई पटक–पटक आग्रह गर्दै आएको छ । पटाकाको प्रयोगले आगलागी, चोटपटक तथा मानवीय क्षति हुनसक्ने भएकाले त्यस्ता सामग्रीको प्रयोगबाट टाढा रहन प्रहरीले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *