छठ मनाउन घर फर्किंदै गरेका यात्रु सवार इभी दुर्घटना : १० जनाको मृत्यु, मृतकको पहिचान खुल्न बाँकी

हेटौँडा, २६ कात्तिक । छठ पर्व मनाउन काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको यात्रुबाहक विद्युतीय गाडी (इभी) मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा मृत्यु भएका १० जनाको पहिचान खुल्न सकेको छैन।

भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा बुधबार बिहान करिब ५ः४५ बजे इभी सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको थियो। दुर्घटनामा पाँच पुरुष, तीन महिला र दुई बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा पाँच जना घाइते भएका छन्। उनीहरू सबैको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र तीन वर्षीय सुदन यादवको पहिचान खुलेको छ।

घाइते मुकेशका अनुसार उनीहरू छठ पर्व मनाउन गाउँ फर्किने क्रममा थिए। काठमाडौँको टीकाथलीबाट गाडी बुक गरेर सर्लाही जाँदै गर्दा दुर्घटना भएको उनले बताए। राति करिब २ बजे यात्रा सुरु गरेको र गाडीमा अधिकांश एउटै गाउँका छिमेकी तथा आफन्त सवार रहेको उनको भनाइ छ।

हेटौँडा अस्पतालमा उपचाररत मुकेशको टाउको र ढाडमा चोट लागेको छ। सक्षमको शरीरमा भित्री चोट लागेको छ भने सुदनको टाउको र मुखमा चोट लागेको छ। उनीहरूको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरी खोज तथा उद्धार कार्य जारी राखिएको छ।

दुर्घटनाको जानकारी बिहान ५ः५५ बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको नेतृत्वमा सात जनाको टोली घटनास्थल पुगेको थियो। त्यसपछि प्रहरी उपरीक्षक खत्रीको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको थियो।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब आठ किलोमिटर उत्तरमा पर्छ। भिरालो क्षेत्रमा गाडी खसेका कारण उद्धार तथा खोजतलासमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

मृतकको पहिचान खुलाउने प्रयास भइरहेको र दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक खत्रीले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *