भीमफेदी दुर्घटनाप्रति ओलीद्वारा दुःख व्यक्त, घाइतेको निःशुल्क उपचार र मृतक परिवारलाई राहत दिन माग

काठमाडौं, २६ कात्तिक । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ।

बिहीबार शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले छठ पर्व मनाउन उत्साहका साथ घर फर्किरहेका नागरिकले दुर्घटनामा ज्यान गुमाउनुपरेको घटनाले आफूलाई मर्माहत र स्तब्ध बनाएको बताउनुभएको हो।

‘मकवानपुरको भीमफेदीमा भएको दुःखद सवारी दुर्घटनामा परी १० जना नागरिकले अमूल्य ज्यान गुमाउनुपरेको हृदयविदारक घटनाले मलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको छ,’ वक्तव्यमा ओलीले भन्नुभएको छ।

उहाँले दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

ओलीले दुर्घटनामा घाइते भएका सबैको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ। मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनसमेत उहाँले माग गर्नुभएको छ।

काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको विद्युतीय सवारी बिहीबार बिहान मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएका छन्।


शोक बक्तब्यको पूर्णपाठ

मकवानपुरको भीमफेदीमा भएको दुःखद सवारी दुर्घटनामा परी १० जना नागरिकले अमूल्य ज्यान गुमाउनुपरेको हृदयविदारक घटनाले मलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको छ । महान् पर्व छठ मनाउन उत्साहका साथ घर फर्किरहेका नागरिकहरूले अकालमै ज्यान गुमाउनुपरेको यस पिडादायी क्षणमा दिवङ्गत हुनुभएकाहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
यस अकल्पनीय विपत्तिबाट शोकसन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै दुर्घटनामा परी घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

 

दुर्घटनामा घाइते भएका सम्पूर्ण नागरिकहरूको निःशुल्क र प्रभावकारी उपचारको प्रबन्ध मिलाउन तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन म सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *