माइक्रोबस दुर्घटना : मृतकका आफन्तले उठाएनन् शव, जनही १० लाख क्षतिपूर्तिको माग

मकवानपुर, २७ कात्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका–स्थित चिसापानी गढीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।

मृतकका आफन्तले पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्नुपर्ने र मृतकका परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार मृतकका आफन्तले थप क्षतिपूर्तिको माग गर्दै शव उठाउन नमानेका हुन् । प्रशासनले कानुनले तोकेबमोजिमको क्षतिपूर्ति मात्रै उपलब्ध गराउन सकिने जानकारी गराएको उनले बताए ।

दुर्घटनामा परेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको मृत्यु भएको छ । दुर्घटनाका बेला चालकसहित २० जना सवार थिए । दुर्घटनामा घाइते भएका छ जनाको हेटौँडा, भरतपुर र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

मृतक १४ जनाकै शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ । मृतकका आफन्त पनि अस्पताल परिसरमै बसेका छन् ।

प्रशासनले चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालेका छन् । अस्पतालले शवको पोस्टमार्टम गर्ने प्रयास गरसएपनि आफन्तले अस्वीकार गरेका थिए ।

प्रशासनले कानुनअनुसार पाउनुपर्ने क्षतिपूर्ति नलिए पनि शवको पोस्टमार्टम गरी प्रचलित कानुनबमोजिम व्यवस्थापन प्रक्रिया अघि बढाइने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *