इभी दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सुन्दरपुर शोकमा, अधिकांश घरमा चुलो बलेन

सर्लाही, २७ कात्तिक । मकवानपुरको भीमफेदीमा भएको इभी दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ । छठ पर्व मनाउन घर फर्कंदै गरेका आफन्त गुमाएपछि गाउँका अधिकांश घरमा दुई दिनदेखि चुलोसमेत बलेको छैन ।

काठमाडौँबाट सर्लाही आउँदै गरेको विद्युतीय गाडी बिहीबार बिहान भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल खस्दा तीन बालिकासहित १४ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा छोरा गुड्डु यादव र बुहारी गायत्री देवी गुमाएका प्रमोद यादवको परिवारमा अर्को बज्रपात परेको छ । गुड्डु दम्पतीका दुई छोरा पनि दुर्घटनामा परेका थिए । पाँच वर्षीय सक्षम घाइते अवस्थामा बाँचेका छन् भने अर्का छोरा सुजनको काठमाडौँमा उपचार भइरहेको छ । दुवै बालकले आमाबुबा गुमाएका छन् ।

त्यस्तै, सुन्दरपुरका अवधेश यादवको परिवारका छ जनाको दुर्घटनामा मृत्यु भएको छ । उनकी श्रीमती पुनम, तीन छोरी र दुई भाइले ज्यान गुमाएका हुन् । १४ महिनाका छोरा सुदीपको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा गाउँकै राकेश राय, रोहन राय, रामप्रवेश यादव, सुवोध राय र रामदुलार रायको पनि मृत्यु भएको छ । चालक सर्लाहीको कविलासीका रविशङ्करकुमार मण्डलले समेत ज्यान गुमाएका छन् ।

दुर्घटनाले सुन्दरपुरवासीलाई १२ वर्षअघिको चुरियामाई ट्रक दुर्घटनाको पीडा पनि सम्झाएको छ । २०७१ कात्तिकमा भएको उक्त दुर्घटनामा सर्लाहीका सात जनाको मृत्यु भएको थियो ।

घटनापछि चक्रघट्ट गाउँपालिकाका अध्यक्ष कृष्ण यादवसहितको टोली मकवानपुर पुगेको थियो । गाउँपालिकाले मृतकका परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँ राहत दिने निर्णय गर्दै एक दिन शोक घोषणा गरेको छ ।

यता, मृतकका आफन्तले उचित राहत र न्यायको सुनिश्चितता नभएसम्म शव नबुझ्ने बताएका छन् । शव परीक्षणपछि गाउँमा ल्याइने आफन्तको प्रतीक्षामा परिवारहरू शोकाकुल अवस्थामा छन् । उनीहरूले दुर्घटनाका दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *