प्लेअफको अन्तिम आशा जोगाउन विराटनगरलाई जित्नैपर्ने चुनौती
काठमाडौं, २८ कात्तिक । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे हुने खेल विराटनगरका लागि प्लेअफ यात्रा कायम राख्न निर्णायक हुनेछ।
लिग चरणको अन्तिम खेल खेल्न लागेका दुवै टोलीको लक्ष्य भने फरक छ। लुम्बिनी यसअघि नै प्लेअफमा पुगिसकेको छ भने विराटनगरलाई शीर्ष चारमा स्थान बनाउन आजको खेल जित्नैपर्ने बाध्यता छ।
६ खेल खेलेको लुम्बिनीले चार खेलमा जित र एक खेलमा अंक बाँड्दै ९ अंक जोडेको छ। तालिकाको दोस्रो स्थानमा रहेको लुम्बिनी आज दबाबरहित अवस्थामा मैदान उत्रनेछ।
६ अंकसहित पाँचौँ स्थानमा रहेको विराटनगरका लागि भने लुम्बिनीविरुद्धको जित मात्रै प्लेअफ पुग्न पर्याप्त हुने छैन। उसले अन्य टोलीको नतिजासमेत आफ्नो अनुकूल आउनुपर्नेछ।
लिग चरणका सातै खेल खेलिसकेको सुदूरपश्चिम रोयल्सले प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ। बाँकी दुई स्थानका लागि काठमाडौं गोर्खाज, चितवन राइनोज र विराटनगर किंग्सबीच प्रतिस्पर्धा छ।
अन्तिम खेलअघि काठमाडौं ८ अंकसहित तेस्रो, चितवन ७ अंकसहित चौथो र विराटनगर ६ अंकसहित पाँचौँ स्थानमा छन्।
काठमाडौंले अन्तिम खेलमा पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा पराजित भए पनि काठमाडौंको प्लेअफ सम्भावना कायम रहनेछ। तर चितवन र विराटनगरका लागि भने जित अनिवार्य छ।
विराटनगरले आज लुम्बिनीलाई हराएसँगै चितवन र काठमाडौंको नतिजासमेत आफ्नो पक्षमा आउनुपर्नेछ। चितवनले अन्तिम खेलमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ।
तीनै टोलीका अन्तिम खेलको नतिजापछि प्लेअफ पुग्ने शीर्ष चार टोलीको टुंगो लाग्नेछ। अंक बराबर भएको अवस्थामा नेट रनरेटले पनि प्लेअफमा पुग्ने टोलीको निर्धारण गर्नेछ।
