आलेखः माटाका आकृतिमा जीवन्त मिथिलाको प्रेम र लोकसंस्कृति–सामाचकेवा पर्व
धनुषा, २८ कात्तिक । मिथिलाञ्चलका गाउँबस्तीमा साँझ पर्नासाथ हातमा रङ्गीचङ्गी माटाका आकृति राखिएको बाँसको डाला, त्यसमा बलिरहेको दियो र समूहमा गुञ्जिने लोकगीतले वातावरण नै उल्लासमय बन्छ । युवती तथा महिलाहरूको सामूहिक स्वरमा गुञ्जिने सामा–चकेवाका गीतले दाजुभाइप्रतिको माया, दिदीबहिनीबीचको आत्मीयता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मिथिलाको सांस्कृतिक परम्परालाई जीवन्त बनाउँछ ।
मिथिलाञ्चलमा छठ पर्वसँगै सुरु हुने सामा–चकेवा केवल मनोरञ्जन वा धार्मिक अनुष्ठान मात्र होइन, यो प्रेम, समर्पण, त्याग र पारिवारिक सम्बन्धको भावनात्मक अभिव्यक्ति पनि हो । माटोका विभिन्न आकृतिलाई पात्र बनाएर गीत र संवादमार्फत कथा प्रस्तुत गरिने यो परम्परा मिथिलाको विशिष्ट गीति लोकनाट्यका रूपमा परिचित छ । कार्तिक शुक्ल पञ्चमीदेखि सुरु हुने सामा–चकेवा पर्व पूर्णिमासम्म ११ दिन मनाइन्छ । यस अवधिमा मिथिलाञ्चलका दिदीबहिनी, छोरीबुहारी तथा महिलाहरू राति समूहमा भेला भएर सामा–चकेवा खेल्ने गर्छन् ।
उनीहरूले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै परम्परागत गीत गाउँछन् । पर्वको पहिलो दिन महिलाहरूले दाजुभाइको हातबाट माटो खनेर ल्याउने परम्परा छ । त्यही माटोबाट सामा, चकेवा, चुगला, सतभइया, वनतितर, झाँझी कुकुरलगायत विभिन्न पात्रका आकृति बनाइन्छन् । माटाका ती आकृति सुकाएपछि विभिन्न रङले सजाएर बाँसको डालामा राखिन्छ । राति दियो बालेर ती आकृति गाउँका चौक, चौराहा, दोबाटो तथा सार्वजनिक स्थानमा लगिन्छन् । त्यसपछि सामूहिक रूपमा गीत गाउने, नाच्ने र माटाका पात्रलाई संवादमार्फत जीवन्त बनाउने गरिन्छ ।
मधेस प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष तथा संस्कृतिविद् रामभरोस कापडीका अनुसार सामा–चकेवा पर्व दिदीबहिनीले दाजुभाइको दीर्घायु र समृद्धिका लागि गर्ने सांस्कृतिक अनुष्ठान हो । यसमा गीत, सङ्गीत, नाटकीय प्रस्तुति र लोकविश्वासको सुन्दर संयोजन रहेको छ । उहाँका अनुसार अन्य लोकनाट्यमा मानिसले पात्रका रूपमा अभिनय गर्छन् भने सामा–चकेवामा माटाका आकृतिलाई पात्र बनाएर महिलाहरूले गीत र संवादमार्फत कथा प्रस्तुत गर्छन् ।
यस क्रममा ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चम्पा फूल लगाइदिय’ र ‘सामचको सामचको अइहा हो, अइहा हो, गुँढ खेतमे भसिया हो’ जस्ता लोकगीत गाइन्छन् । यी गीतमा दाजुभाइप्रतिको माया, पारिवारिक सम्बन्ध, सामाजिक जीवन र प्रकृतिप्रतिको आत्मीयता अभिव्यक्त भएको पाइन्छ ।
माटाका पात्रमा जीवन्त हुन्छ लोकनाट्यसामा–चकेवा पर्वको सबैभन्दा विशिष्ट पक्ष माटाका आकृतिमार्फत कथा प्रस्तुत गरिनु हो । यसमा सामा र चकेवा मुख्य पात्रका रूपमा रहन्छन् । सामा स्त्री पात्र र चकेवा पुरुष पात्र हुन् । यसबाहेक चुगला, ढोलिया, भरिया, सतभइया, खजंचिडैया, वनतितर, झाँझी कुकुर, भैया बटतकनी, मलिनियाँ र वृन्दावनजस्ता पात्र पनि बनाइन्छन् । यी पात्रले मिथिलाको सामाजिक, पारिवारिक तथा प्राकृतिक जीवनका विभिन्न पक्षलाई प्रतिनिधित्व गर्छन् ।
सामा–चकेवा माटाका मूर्तिको पूजा मात्र नभई गीत, अभिनय, संवाद र सामूहिक सहभागितामा आधारित मौलिक लोकनाट्य हो । महिलाहरू यसका कलाकार मात्र होइनन्, उनीहरू नै कथाका सूत्रधार र प्रस्तोता पनि हुन् ।
परम्परा र विधिविधान
सामा–चकेवा पर्वको सुरुआतसँगै माटाका विभिन्न पात्र बनाउने काम सुरु हुन्छ । चुगलाको आकृति बनाउन माटोको ढिस्कोसँगै सनपाट प्रयोग गरिन्छ, जसले पछि आगो लगाउन सहज बनाउँछ । त्यसैगरी वृन्दावन बनाउन सुकेको राडी घाँस बाँधेर आकृति तयार गरिन्छ । राति खाना खाइसकेपछि महिलाहरू तथा बालिकाहरू आ–आफ्नो घरबाट दियो बालिएको डाला लिएर निस्कन्छन् ।
यसरी पर्वको विधिवत् समापन हुन्छ । क्षीरेश्वरनाथ नगरपालिका–२ की ३२ वर्षीया अनिता यादवका अनुसार छठ पर्वको खरना विधि गरिने दिनदेखि नै सामा–चकेवाको तयारी सुरु हुन्छ । छठको तयारीसँगै महिलाहरूले सामा–चकेवाका लागि आवश्यक माटो, बाँसको डाला, रङ र अन्य सामग्रीको जोहो गर्छन् । उहाँका अनुसार सामा–चकेवा खेल्ने क्रममा गाउँका महिलाहरूबीच भेटघाट, सामूहिकता र आत्मीयता बढ्ने गरेको छ ।
पुराणसँग जोडिएको सामा–चकेवाको कथा
सामा–चकेवा पर्वको उत्पत्तिबारे विभिन्न धार्मिक तथा सांस्कृतिक मान्यता प्रचलित छन् । यसको चर्चा पद्मपुराण र स्कन्दपुराणमा समेत पाइने संस्कृतिविद्हरू बताउँछन् । मैथिली संस्कृतिका जानकार प्राध्यापक अरुण चौधरीका अनुसार प्रचलित पौराणिक कथाअनुसार सामा अर्थात् श्यामा भगवान् कृष्णकी छोरी थिइन् ।
कालान्तरमा मौखिक परम्परामार्फत कथाको स्वरूप परिवर्तन हुँदै जाँदा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयता नै यस पर्वको मुख्य भावका रूपमा स्थापित भएको संस्कृतिविद्हरूको भनाइ छ ।
लोकगीतमा प्रतिबिम्बित मिथिलाको जनजीवन
समाजशास्त्री पुनम चौधरी भन्नुहुन्छ, “सामा–चकेवा पर्वका गीतमा मिथिलाको सामाजिक जीवन, पारिवारिक सम्बन्ध, प्रकृति, प्रेम र मानवीय संवेदना प्रतिबिम्बित हुन्छन् । यी गीत पुस्तौँदेखि मौखिक रूपमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएका छन् ।’’
पर्वको अन्तिम दिन सामा–चकेवा विसर्जन गरेर फर्किने क्रममा गाइने ‘समदाउनी’ गीत विशेष भावुक मानिन्छ । यस गीतमार्फत सामालाई अर्को वर्ष पुनः आउने निमन्त्रणा दिँदै बिदाइ गरिन्छ । यसले पर्वको समापनलाई समेत भावनात्मक र सांस्कृतिक महत्त्व प्रदान गर्छ । सामा–चकेवाका गीतमा जनकपुर र मिथिलाको सामाजिक तथा सांस्कृतिक जीवनका प्रसङ्ग पनि समेटिएका छन् । यसले मिथिलाको ऐतिहासिक पहिचान, स्थानीय जीवनशैली र लोकसंस्कृतिको समृद्धिलाई उजागर गर्छ ।
नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने सांस्कृतिक सम्पदा
मिथिलाञ्चलमा सामा–चकेवा पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई आत्मीय बनाउनुका साथै सामूहिकता, सहकार्य र सांस्कृतिक एकतालाई पनि बलियो बनाउँदै आएको छ । विशेषगरी महिलाहरूको सक्रिय सहभागितामा मनाइने यो पर्वले उनीहरूलाई आफ्नो कला, सिर्जनशीलता र सांस्कृतिक पहिचान प्रस्तुत गर्ने अवसर प्रदान गर्छ ।
यस वर्ष पनि मङ्सिर ५ गते देखि जानकी मन्दिर प्राङ्गणमा सामाचकेवा प्रतियोगिताको आयोजना हुने कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिनुभएको छ । कोषका अध्यक्ष चौधरीले सामा–चकेवा मिथिला सांस्कृतिमा भाइबहिनीबीचको प्रेमलाई प्रगाढ बनाउने सांस्कृतिक रहेकोले यसलाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले आफूहरूले महोत्सव आयोजना गर्दै आएको बताउनुभयो ।
– अजयकुमार साह/रासस
