तिहारपछि इलामका फाँटमा धान काट्ने चटारो, मौसमले साथ दिएपछि किसान उत्साहित

इलाम, ३० कात्तिक । तिहार सकिएसँगै इलामका तल्लो क्षेत्रमा धान काट्ने सिजन सुरु भएको छ । यस वर्ष समयमै वर्षा भएकाले धानको उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ भने भित्र्याउने बेलामा मौसमले साथ दिएपछि किसान उत्साहका साथ खेतबारीमा खटिएका छन् ।

माङसेबुङ गाउँपालिका–३ रतुवाबेँसीका किसान देउकुमार इधिङ्गोका अनुसार मौसम अनुकूल भएपछि धान काट्न थालिएको हो । स्थानीय किसान धान काट्ने, सुकाउने, बिटा उठाउने र थन्क्याउने कामामा व्यस्त छन् । उनले यस वर्ष ४० रोपनीमा धानखेती गरेका छन् । धान पाक्न नपाउँदै चरा र मुसाले क्षति पुर्‍याउने भएकाले काट्न र थन्क्याउन ढिलाइ गर्न नहुने उनको भनाइ छ ।

तिहारपछि लगातार घाम लागेकाले किसान व्यस्त भएको स्थानीय किसान हस्तबहादुर पोख्रेलले बताए । टारी र फाँटमा लगाइएको धान पाकेर पहेँलपुर भएपछि काट्न र थन्क्याउन भ्याइनभ्याइ भएको उनको भनाइ छ ।

जिल्लाको माङसेबुङ, चुलाचुली, माई र रोङ गाउँपालिकाका तल्लो क्षेत्रमा धान काट्न थालिएको हो । ती क्षेत्रका फाँट पहेँलपुर भएका छन् । इलामका किसानलाई कात्तिकको अन्तिम साता सुरु भएर मङ्सिरसम्म धान काट्ने र थन्क्याउने चटारो हुने गर्छ । यहाँ अझै पनि परम्परागत शैलीमै धान काट्ने र झार्ने चलन कायम छ ।

धान वर्षभरि खाने मुख्य अन्नबाली भएकाले परिवारका सबै सदस्य थन्क्याउने कार्यमा खटिएको किसान दिलकुमार लावतीले बताए । “हामीले वर्षभरि खाने मुख्य अन्नबाली धान नै हो, त्यसैले यतिबेला थन्क्याउन लागिपरेका छौँ”, उनले भने, “धान थन्क्याएर पुनः अर्को बाली लगाइन्छ ।” धान भित्र्याइसकेपछि यहाँका किसानले तोरी, फापर, आलु, गहुँ, मकै र तरकारीलगायतका बाली लगाउने गर्छन् ।

कृषि ज्ञान केन्द्र इलामका अनुसार जिल्लामा ११ हजार ६२ दशमलव ६४ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । चुलाचुली गाउँपालिका र माई नगरपालिकामा मुख्य रूपमा व्यावसायिक धानखेती हुन्छ । त्यसबाहेक माङसेबुङ, फाकफोकथुम, रोङ, माईजोगमाई र सन्दकपुर गाउँपालिका तथा देउमाई, इलाम र सूर्योदय नगरपालिकाको तल्लो क्षेत्रमा पनि धानखेती गरिन्छ ।

किसानले उन्नत जातका सावित्री र रञ्जितका साथै रैथाने चिराखे, भँगेरे, चुल्ठे, मन्सुली र रामधानलगायतका जातको धान लगाउने गरेका छन् । समयमै रोपाइँ सकिएकाले गत वर्षहरूको तुलनामा यस वर्ष धानको उत्पादन बढी हुने अनुमान गरिएको केन्द्रका सूचना अधिकारी प्रदीप लुइँटेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *