छठघाटको रेखदेखमा बसेका ६० वर्षीय यादव मृत फेला, घटना शंकास्पद

जनकपुर, ३० कात्तिक । धनुषाको शहीदनगर नगरपालिका–२, मतौनास्थित धनी पोखरीमा छठघाटको रेखदेख गर्न बसेका ६० वर्षीय रामजतन यादव मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार स्थानीय यादव पोखरीमा छठघाट निर्माण गरी त्यसको रेखदेखका लागि एक्लै बस्दै आएका थिए । उनी आज बिहान करिब ६ बजे पोखरीमा मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार मृतक यादवको दाहिने गालामा मुखदेखि कानको लोतीसम्म धारिलो हतियारले काटेको जस्तो चोट देखिएको छ । घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएकाले प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालको कमान्डमा कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाएको छ । घटनास्थलनजिकै पोखरीको पानीमा पराल काट्ने दाउसमेत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । यादवको मृत्युको कारण तथा घटनामा संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *