बझाङमा अटो दुर्घटना हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु

बझाङ, ३० कात्तिक । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको दुर्घटनामा एक जना बालक भने सकुशल रहेका छन् ।

प्रहरीका अनुसार सोमबार बिहान १०ः२० बजे टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल खसेको थियो ।

अटोमा चालकसहित छ जना सवार थिए । दुर्घटनालगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले खोजी तथा उद्धारका क्रममा तीन जनाको शव फेला पारेको थियो । थप खोजी गर्ने क्रममा चार वर्षीया रियास महराको शवसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

मृत्यु हुनेमा बुङ्गल नगरपालिका–१० की ३५ देखि ४० वर्षीया राजमति महरा, १५ देखि १६ वर्षीया तारा महरा, पाँचदेखि छ वर्षीया डल्ली महरा र चार वर्षीया रियास महरा रहेका छन् ।

दुर्घटनामा अटोमा सवार १२ देखि १३ वर्षीय विक्रम महरा भने सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीले अटो चालक बुङ्गल नगरपालिका–११ का २५ वर्षीय टेकबहादुर पातलीलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण तथा घटनासम्बन्धी थप विवरणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *