हसिनाको गृहनगर गोपालगञ्जमा १० प्लाटुन सुरक्षा बल परिचालन
ढाका, ३० कात्तिक । बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सीमा सुरक्षा बल (बिजिबी) का १० प्लाटुन परिचालन गरेको छ ।
सुरक्षा निगरानीका लागि ड्रोन र बडी क्यामेरा प्रयोग गरिएको छ भने सम्भावित दङ्गा नियन्त्रणका लागि सशस्त्र सवारीसाधनसमेत तैनाथ गरिएको छ ।
हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने योजना सार्वजनिक गरेपछि गोपालगञ्जमा अवामी लिगका समर्थक सक्रिय भएका छन् । प्रतिबन्धित अवस्थामा रहेको उक्त पार्टीका समर्थकले प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको समाचारमा जनाइएको छ ।
यसैबीच, कानूनमन्त्री मोहम्मद असदुज्जमानले हसिना कानूनी प्रक्रियाअनुसार प्रत्यर्पण सन्धिमार्फत बङ्गलादेश फर्कने बताउनुभएको छ । मानवताविरुद्धको अपराधमा दोषी ठहर भएकी हसिनाले फैसलाविरुद्ध अपिल गर्न पाउने ३० दिने समयसीमा सकिएपछि कानूनी विकल्प सीमित हुने मन्त्रीको भनाइ छ ।
सन् २०२४ को जुलाई विद्रोहका क्रममा मानवताविरुद्धको अपराध गरेको अभियोगमा हसिनालाई सन् २०२५ नोभेम्बर १७ मा मृत्युदण्डको फैसला सुनाइएको थियो । उक्त फैसलाको पूर्ण पाठ सन् २०२६ जनवरी १३ मा सार्वजनिक भएको थियो ।
