त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, ३० कात्तिक। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्धठोस सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चीनको ग्वाङडोङ स्थायी ठेगाना भएका ४२ वर्षीय झान गुओकिङ रहेका छन्। उनी हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत काठमाडौँ आएका थिए।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार शङ्कास्पद गतिविधिका आधारमा जाँच गर्ने क्रममा उनले लगाएको भित्री वस्त्रभित्र प्लास्टिकले बेरेर लुकाइएको अवस्थामा उक्त सुन फेला परेको हो।

विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार भन्सार छली गरी अवैध रूपमा ल्याउन खोजिएको अवस्थामा सुन बरामद गरी उनलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *