शक्तिशाली एल निनोको जोखिम : ब्राजिलमा डढेलो, इन्डोनेसियामा वन विनाश र अफ्रिकामा खाद्य सङ्कटको चेतावनी
एजेन्सी, १ मङ्सिर । यस वर्ष विकसित शक्तिशाली एल निनोका कारण विश्वका विभिन्न क्षेत्रमा जलवायुजन्य जोखिम बढ्ने चेतावनी दिइएको छ । ब्राजिलमा भीषण डढेलो, इन्डोनेसियामा वन विनाश र पश्चिम अफ्रिकामा कृषि उत्पादनमा गिरावट आउन सक्ने भन्दै संयुक्त राष्ट्रसङ्घका निकाय तथा मौसमविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।
एल निनोको प्रभावले विश्वव्यापी वर्षा, हावाको बहाव र तापक्रमको ढाँचामा परिवर्तन ल्याउने भएकाले खाद्य सुरक्षामासमेत गम्भीर चुनौती थपिन सक्ने उनीहरूको आकलन छ । यस वर्ष विकसित एल निनो डिसेम्बरमा उच्च विन्दुमा पुग्ने र त्यसको प्रभाव सन् २०२७ सम्म रहन सक्ने अनुमान गरिएको छ ।
एल निनो मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढ्ने मौसमी जलवायु घटना हो । यसले विश्वका विभिन्न भूभागमा वर्षाको मात्रा र तापक्रममा असामान्य उतारचढाव ल्याउने गर्छ ।
ब्राजिल र पेरुमा डढेलो तथा प्राकृतिक विपद्को जोखिम
ब्राजिलको पारा राज्यमा नोभेम्बरको सुरुदेखि पाँच हजारभन्दा बढी डढेलोका घटना भएका छन् । गम्भीर खडेरी र लगातारको आगलागीका कारण राज्यमा आपत्काल घोषणा गरिएको छ । आगलागी नियन्त्रण तथा अमेजन क्षेत्रको वन संरक्षणका लागि वनस्पति र जमिन सफा गर्न आगो लगाउन प्रतिबन्धसमेत लगाइएको छ । त्यस्तै, एल निनोका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने भन्दै पेरुले पनि यसअघि नै आपत्काल घोषणा गरिसकेको छ ।
इन्डोनेसियामा २९ लाख हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित
इन्डोनेसियामा यस वर्ष लागेको डढेलोमा एल निनोको प्रमुख भूमिका रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । जुलाईदेखि अक्टोबरसम्म दक्षिणपूर्वी एसियामा वर्षा कम हुनुको मुख्य कारण एल निनो रहेको उनीहरूको निष्कर्ष छ ।
जलवायु परिवर्तनका कारण यस्ता मौसमी अवस्थाको सम्भावना र तीव्रता झन्डै तीन गुणाले बढेको अध्ययनले देखाएको छ । वन फँडानी, दलदली जमिनको दोहन तथा खानी उत्खननका गतिविधिले पनि डढेलोको जोखिम थप बढाएको बताइएको छ ।
नुसानतारा एटलसका अनुसार सन् २०२६ मा हालसम्म इन्डोनेसियामा करिब २९ लाख हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित भइसकेको छ । एल निनोको प्रभाव थप तीव्र भएमा वन विनाश र वातावरणीय क्षति अझ बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
पश्चिम अफ्रिकामा कोको उत्पादन २५ प्रतिशतसम्म घट्न सक्ने
एल निनोको प्रभावले पश्चिम अफ्रिकाको कृषि क्षेत्रसमेत प्रभावित हुने देखिएको छ । विश्वकै प्रमुख कोको उत्पादक मुलुकमध्ये पर्ने आइभोरी कोस्टमा यस वर्ष कोको उत्पादन २१ देखि २५ प्रतिशतसम्म घट्न सक्ने मौसमविद्हरूले अनुमान गरेका छन् ।
वर्षाको मात्रामा १० देखि २७ प्रतिशतसम्म कमी आउनुका साथै लामो समयसम्म सुक्खा मौसम कायम रहने जोखिम छ । यसले कोकोका फल समयअगावै सुक्ने र रूखका पात झर्ने समस्या निम्त्याउन सक्छ । कोको उत्पादनमा गिरावट आएमा किसानको आम्दानीमा प्रत्यक्ष असर पर्नेछ भने मुलुकको निर्यात राजस्वसमेत घट्न सक्नेछ ।
समयमै तयारी नगरे लागत दोब्बर हुन सक्ने चेतावनी
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका प्रमुख अलेक्जान्डर डे क्रूले एल निनोको सम्भावित प्रभाव न्यूनीकरण गर्न तत्काल कदम चाल्नुपर्ने बताएका छन् ।
उनका अनुसार अहिले नै आवश्यक तयारी र जोखिम न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्दा करिब ३६ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान छ । तर, समयमै काम नगरेमा उक्त लागत बढेर ७३ अर्ब अमेरिकी डलरसम्म पुग्न सक्छ । उनले जलवायु जोखिम न्यूनीकरणमा ढिलाइ गर्नु सबैभन्दा महँगो विकल्प हुने चेतावनी दिएका छन् ।
यसैबीच, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले एल निनोका कारण खडेरी र बाढीको जोखिम बढ्दा विश्वव्यापी खाद्य असुरक्षा थप गम्भीर बन्न सक्ने जनाएको छ ।
एफएओका अनुसार जोखिममा रहेका २२ मुलुकमध्ये आधाभन्दा बढी अफ्रिकामा छन् । बाँकी मुलुक एसिया–प्रशान्त, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रका छन् ।
एफएओका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले द्वन्द्व, आर्थिक सङ्कट, उच्च ऋणभार र कृषि सामग्रीको अभाव झेलिरहेका मुलुकका खाद्य प्रणाली एल निनोका कारण थप कमजोर हुन सक्ने बताएका छन् ।
उनका अनुसार जलवायु परिवर्तनको असर खाद्यान्न उत्पादनमा मात्र सीमित नरही सर्वसाधारणको खाद्यान्नमा पहुँचसम्म पुग्न सक्छ । त्यसैले सम्भावित सङ्कटबाट बच्न बाली, पशुधन र जलस्रोतको संरक्षणका लागि समयमै तयारी गर्न आवश्यक रहेको उनले जोड दिएका छन् ।
एल निनोको प्रभाव विश्वका विभिन्न क्षेत्रमा फरक–फरक रूपमा देखिने भए पनि यसको समग्र असर कृषि उत्पादन, वन तथा जैविक विविधता र खाद्य आपूर्तिमा पर्न सक्ने भएकाले अन्तर्राष्ट्रियस्तरमै पूर्वतयारी र सहकार्य आवश्यक देखिएको छ ।
