स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँसहित ललितपुरबाट तीन जना पक्राउ

काठमाडौं, २ मंसिर । स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँभन्दा बढी नगदसहित ललितपुरबाट तीन जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–४ नख्खु दोबाटो चोकबाट १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च २७६५ नम्बरको गाडी जाँच गर्ने क्रममा उक्त रकम फेला पारेको जनाएको छ ।

पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–१० चापागाउँका ३२ वर्षीय जयराम केसी, भोजपुर नगरपालिका–३ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने ३१ वर्षीय दीपक खड्का र काठमाडौंको बत्तीसपुतलीका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट स्रोत नखुलेको नगदसँगै मिनी कन्टेनर र विभिन्न कम्पनीका तीन थान मोबाइलसमेत बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *