फाइनल प्रवेशको दौडमा रहन आज काठमाण्डु र चितवन भिड्दै

 

काठमाडौं, २ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज इलिमिनेटर खेल हुँदैछ । फाइनल प्रवेशको सम्भावना जीवित राख्ने लक्ष्यसहित काठमाण्डु गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल अपराह्न साढे ४ बजे सुरु हुनेछ । लिग चरणको अंकतालिकामा तेस्रो स्थानमा रहेको काठमाण्डु र चौथो स्थानको चितवनबीचको यो खेल जित्ने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ ।

इलिमिनेटरको विजेताले बिहीबार हुने दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो क्वालिफायर जित्ने टोलीले शनिबार हुने फाइनलमा स्थान बनाउनेछ । पहिलो क्वालिफायर जितेको लुम्बिनी लायन्स भने यसअघि नै फाइनल पुगिसकेको छ ।

लिग चरणमा सात खेल खेलेको काठमाण्डुले चार जित र तीन हारसहित आठ अंक जोडेको थियो । सुरुवाती तीन खेलमा लगातार जित निकाल्दै उत्कृष्ट लय देखाएको काठमाण्डुले पछिल्ला दुई खेलमा भने पराजय बेहोरेको थियो ।

यता चितवनले सात खेलमध्ये तीनमा जित, तीनमा हार र एक खेलमा नतिजाविहीन हुँदै सात अंक जोडेको थियो । आठ टोली सहभागी प्रतियोगिताको लिग चरणमा ११ अंक जोडेको लुम्बिनी शीर्ष र १० अंकसहित सुदूरपश्चिम दोस्रो स्थानमा रहेका थिए । पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनल पुगिसकेको छ ।

त्यस्तै, विराटनगर किङ्स र कर्णाली याक्स समान ६ अंकसहित तथा पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स समान चार अंकमा सीमित हुँदै लिग चरणबाटै बाहिरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *