देशका विभिन्न स्थानबाट लागुऔषधसहित २१ जना पक्राउ
काठमाडौँ, मङ्सिर २ । प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको नियमित गस्ती तथा जाँचका क्रममा लागुऔषधसहित २१ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू बर्दिया, कञ्चनपुर, सुनसरी, दाङ, कैलाली, झापा, मकवानपुर, चितवन, ललितपुर र मोरङबाट पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार बर्दियाको गुलरिया नगरपालिका ११ लालपुरबाट एक जना, कञ्चनपुरको लालझाडी गाउँपालिका ६ चान्देउ तथा सोही गाउँपालिकाको अर्को स्थानबाट दुई-दुई जना पक्राउ परेका छन् ।
त्यसैगरी, सुनसरीको कोशी गाउँपालिका १ लौकहीबाट दुई जना तथा धरान उपमहानगरपालिका ८ गैरीगाउँ र दुर्गापथबाट एक–एक जना पक्राउ परेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका ५ रानीजरुवाबाट एक जना, कैलालीको भजनी नगरपालिका ३ सरदार चोकबाट एक जना र झापाको बिर्तामोड नगरपालिका ८ बाट एक जना पक्राउ परेका छन् ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका ११ स्मारक रोडबाट एक जना, चितवनको भरतपुर महानगरपालिका ११ मनकामना टोलबाट चार जना, ललितपुरको गोदावरी नगरपालिका ८ बागमती पुलनजिकबाट एक जना तथा मोरङको रङ्गेली नगरपालिका ४ चोप्राहा बोर्डरबाट तीन जना पक्राउ परेका प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोललगायत औषधि बरामद गरिएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
