त्रिभुवन विमानस्थलबाट झण्डै दुई किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं, २ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई किलो सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार मंगलबार मध्यराति १ बजेर २५ मिनेटमा एक किलो ८०३ दशमलव ७७ ग्राम सुनसहित चीनका नागरिक जियानह्वा वाङ पक्राउ परेका हुन् ।
हङकङबाट नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका वाङ चीनको जिलिन प्रान्तका रहेको प्रहरीले जनाएको छ ।
विमानस्थलको भन्सार तथा सशस्त्र प्रहरीको चेकजाँच क्षेत्र पार गरिसकेपछि नेपाल प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका वाङलाई बरामद गरिएको सुनसहित थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थलस्थित गौचर भन्सार कार्यालयमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
