पाँचखालमा पक्राउ परेका ३६ चिनियाँ नागरिकका १५५ मोबाइल र ४९ ल्यापटपमाथि अनुसन्धान

काभ्रेपलाञ्चोक, २ मङ्सिर । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७, शिखरपुरस्थित एक रिसोर्टबाट नियन्त्रणमा लिइएका ३६ चिनियाँ नागरिकले प्रयोग गर्दै आएको आशङ्कामा प्रहरीले १५५ थान मोबाइल फोन र ४९ थान ल्यापटपमाथि प्राविधिक अनुसन्धान थालेको छ।

मङ्गलबार अपराह्न नियन्त्रणमा लिइएका चिनियाँ नागरिक बस्दै आएको रिसोर्टमा शङ्कास्पद गतिविधि देखिएको भन्दै स्थानीयवासीले गुनासो गरेपछि प्रहरीले छापा मारेको थियो। जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार बरामद डिजिटल उपकरणको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालयका प्राविधिक टोलीले अनुसन्धान गरिरहेका छन्।

मङ्गलबारदेखि नै हिरासतमा राखिएका उनीहरूबारे मोबाइल र कम्प्युटरको अनुसन्धानपछि सीआईबीको रायअनुसार कानुनी प्रक्रिया अघि बढाइने विष्टले बताउनुभयो। “पर्यटकीय भिसामा रहेर काम गरेको जस्तो देखिन्छ। दोषी ठहरिए कानुनअनुसार कारबाही हुन्छ, अन्यथा अध्यागमन विभागमा बुझाइन्छ,” उहाँले भन्नुभयो।

प्रहरीका अनुसार ती चिनियाँ नागरिक थाङ्का चित्र बनाउने तथा पर्यटन र प्रविधिसम्बन्धी काम गर्ने भन्दै तीन महिनादेखि उक्त रिसोर्टमा बस्दै आएका थिए। स्थानीयको गुनासोपछि गरिएको छानबिनका क्रममा रिसोर्टका दुई कोठामा मोबाइल फोन र ल्यापटप फेला परेका थिए।

स्थानीय वडाध्यक्ष रामशरण दङ्गालले चिनियाँ नागरिकको गतिविधिबारे केही समयदेखि चासो राखे पनि उनीहरूले के काम गरिरहेका छन् भन्ने स्पष्ट जानकारी पाउन नसकेको बताउनुभयो। केही हप्ताअघि प्रहरीसहित रिसोर्ट पुगेर सोधपुछ गर्दा आफूहरू थाङ्का चित्र बनाउने काममा संलग्न रहेको जवाफ पाएपछि फर्किएको उहाँले जानकारी दिनुभयो।

रिसोर्ट सञ्चालक सूर्य भेटुवालका अनुसार तीन महिनाअघि चिनियाँ टोलीलाई रिसोर्ट भाडामा दिइएको थियो। उनीहरूले पर्यटन तथा प्रविधिसम्बन्धी काम गर्ने भन्दै रिसोर्ट भाडामा लिएको र खाना पकाउने सेफसमेत आफैँ ल्याएकाले रिसोर्टका कर्मचारी त्यहाँ नरहेको उहाँले बताउनुभयो।

पाँचखालको घटनापछि जिल्लाका धुलिखेल, पनौती र बल्थलीलगायत क्षेत्रमा पनि चिनियाँ नागरिकको बसाइ तथा गतिविधिबारे चासो बढाइएको छ। पनौतीका एक निर्माण व्यवसायीका अनुसार बल्थली क्षेत्रका नयाँ तथा ठूला होटल र रिसोर्टमा पछिल्ला केही महिनायता चिनियाँ नागरिकको चहलपहल बढेको छ।

जिल्लाका अन्य क्षेत्रमा पनि विदेशी नागरिकको बसाइ, उनीहरूले गर्ने गतिविधि र कानुनी वैधानिकताबारे अनुसन्धान गर्नुपर्ने आवाज उठ्न थालेको छ। प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बिहीबारदेखि थप प्रहरी परिचालन गरी शङ्कास्पद क्षेत्रका होटल तथा रिसोर्टमा अनुगमन र निरीक्षण सुरु गरिएको बताउनुभयो।

उहाँका अनुसार धुलिखेल, पनौती, पाँचखाल, दोलालघाट र नगरकोटजस्ता पर्यटकीय क्षेत्रमा विदेशी नागरिकको बसाइ तथा गतिविधिबारे सम्बन्धित संयन्त्रमार्फत थप सूचना सङ्कलन गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *