मकवानपुरको भैँसेमा सुमो दुर्घटनाहुँदा तीन जनाको मृत्यु, सात घाइते
हेटौँडा। ३ मङ्सिर । मकवानपुरको भैँसे नजिकै बुधबार बिहान सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
रौतहटको चपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो भैँसेस्थित सुन्दरीमाई मोडमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–३ निवासी ५० वर्षीय बमबहादुर वाइबा र सोही नगरपालिका–४ निवासी २२ वर्षीया जेसिका तिमिल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख श्यामबहादुर खत्रीले राससलाई जानकारी दिनुभयो । दुर्घटनामा मृत्यु भएका अर्का एक जनाको भने पहिचान खुल्न सकेको छैन ।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त सुमोमा चालकसहित १० जना सवार थिए । दुर्घटनामा घाइते भएका सातै जनालाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको छ ।
