काभ्रेमा शङ्कास्पद गतिविधि, दुई दिनमा ७६ विदेशी पक्राउ

काभ्रेपलाञ्चोक, ३ मङ्सिर । काभ्रेपलाञ्चोकका विभिन्न होटल तथा रिसोर्टमा शङ्कास्पद गतिविधि गरेको आरोपमा दुई दिनमा ७६ जना विदेशी नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी र प्रशासनको टोलीले मङ्गलबार पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ चिनियाँ नागरिक तथा बुधबार पनौती नगरपालिका–११ बल्थलीस्थित बल्थली माउन्टेन रिसोर्टबाट ३५ जापानी र पाँच चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरूको साथबाट ठूलो सङ्ख्यामा ल्यापटप, मोबाइल तथा ट्याबलेट बरामद गरिएको प्रहरीले जनाएको छ । पाँचखालबाट पक्राउ परेका चिनियाँ नागरिकले प्रयोग गरेका ४९ ल्यापटप र १५५ मोबाइल थप प्राविधिक अनुसन्धानका लागि प्रहरीको केन्द्रीय प्रयोगशालामा पठाइएको छ ।

पाँचखालमा पक्राउ परेका चिनियाँ नागरिकलाई अध्यागमन विभागमा बुझाइएको छ भने बल्थलीबाट पक्राउ परेका ४० जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले बताउनुभयो ।

स्थानीयको गुनासोपछि गरिएको अनुगमनका क्रममा रिसोर्टमा शङ्कास्पद गतिविधि भेटिएको प्रहरीले जनाएको छ । बल्थलीको रिसोर्टमा टिकटकका बुथ, छुट्टाछुट्टै क्याबिन, टेलिफोन तथा अन्तर्वार्ता कक्षलगायत संरचना फेला परेका थिए ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जिल्लाका होटल तथा रिसोर्टमा निगरानी र अनुगमन बढाइएको बताउनुभयो । धुलिखेल, पनौती, पाँचखाल, दोलालघाट र नगरकोटलगायत पर्यटकीय क्षेत्रमा विदेशी नागरिकको बसाइ तथा गतिविधिबारे थप निगरानी गरिने उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *