पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ, ३ मङ्सिर । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी तथा आर्थिक अनियमितताको प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौँले अर्यालविरुद्ध पक्राउ पुर्जी जारी गरेको सीआईबीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो।
पक्राउ पुर्जी जारी भएपछि प्रहरीले अर्याललाई पक्राउ गर्न खोजे पनि उनी सम्पर्कविहीन रहेको जनाएको छ। सीआईबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराका अनुसार अर्याल देशबाहिर गएको सूचना प्रहरीले पाएको छ।
मलेसिया जाने नेपाली श्रमिकसँग सम्बन्धित ठगीबाट संकलित रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा प्रहरीले बुधबार तत्कालीन दुई मन्त्रीसहित छ जना उच्चपदस्थ सरकारी अधिकारीलाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वरराय यादव, तत्कालीन श्रमसचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख राजीव पोखरेल र उमेश ढुङ्गाना तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन्।
उक्त प्रकरणमा अर्याल सोही अवधिमा श्रम सचिवका रूपमा कार्यरत हुनुहुन्थ्यो। प्रहरीले मलेसिया जाने नेपाली श्रमिकसँग जोडिएको आर्थिक अनियमितता तथा विदेशी मुद्रा अपचलनसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।
यसअघि पनि प्रहरीले उक्त प्रकरणमा व्यवसायी कैलाश खड्कासहित चार जनालाई पक्राउ गरिसकेको छ।
