ध्वनि प्रदूषण फैलाउने एक हजारभन्दा बढी मोटरसाइकल कारबाहीमा

झापा, ३ मङ्सिर । सडकमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गर्ने तथा स्वीकृतिबिना सवारीसाधनको स्वरूप परिवर्तन गरी चलाइएका एक हजारभन्दा बढी मोटरसाइकललाई झापा प्रहरीले कारबाही गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईका अनुसार गत आर्थिक वर्षदेखि चालु आर्थिक वर्षको हालसम्म एक हजार ६३ वटा सवारीसाधनलाई कारबाही गरिएको हो।

सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, अवैध साइलेन्सर जडान गर्ने तथा सर्वसाधारणलाई असहज हुने गरी मोटरसाइकल चलाउने प्रवृत्ति बढेपछि ट्राफिक प्रहरीले नियन्त्रण अभियान सञ्चालन गरेको जनाएको छ। प्रहरीले अवैध रूपमा जडान गरिएका साइलेन्सर पाइपसमेत जफत गरेको छ।

“सवारीसाधनको स्वरूप परिवर्तन गरेर चर्को ध्वनि निकाल्दै सडकमा गुडाउने प्रवृत्तिलाई नियन्त्रण गर्न सक्रियता बढाएका हौँ,” प्रहरी निरीक्षक राईले भन्नुभयो, “ट्राफिक नियम उल्लङ्घन गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याउँछौँ।”

मेचीनगर, भद्रपुर, बिर्तामोड, दमक, बुद्धशान्ति र अर्जुनधारालगायत जिल्लाका विभिन्न स्थानमा चर्को आवाजमा मोटरसाइकल नचलाउन आग्रह गर्दै प्रहरीले सचेतनामूलक अभियानसमेत सञ्चालन गरिरहेको जनाएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार अधिकारप्राप्त अधिकारीको स्वीकृतिबिना सवारीसाधनको रङ, सिट सङ्ख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन गर्न पाइँदैन। नियमविपरीत सवारीसाधनमा हेरफेर गर्नेलाई कानुनबमोजिम जरिवाना तथा अन्य कारबाही हुने प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले स्वीकृतिबिना सवारीसाधनको स्वरूप परिवर्तन गर्नुलाई समेत ट्राफिक नियम उल्लङ्घनका रूपमा लिई कारबाही गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *