नेवार समुदायका युवा युवतीले मनाए साङ्गीतिक कार्यक्रमसहित मतिना पारु
काठमाडाैं, २ पुस । नेवार समुदायका युवा युवतीले हिजाे अर्थात यःमरि पुन्हि (धान्य पूर्णिमा)को भोली पल्ट विभिन्न साङ्गीतिक कार्यक्रमसहित मतिना पारु मनाएका छन् ।
पारुकाे दिन काठमाडाैं महानगरपालिकाकाे सहकार्यमा विभिन्न नेवारी ब्याण्डहरूकाे उपस्थितीमा बसन्तपुरमा साङ्गीतिक कार्यक्रम आयाेजना गरिएकाे हाे ।
मतिना पारु नेवार समुदायको एक लोकप्रिय चाडका रूपमा मनाइन्छ । मतिना पारुकाे नेवा: परम्परामा छुट्टै कथन छ तर यसलाइ प्रेम दिवसकारूपमा लिने गर्दछ ।
के हाे त ? मतिना पारु?
मतिना पारु खासगरी नेवार समुदायको एक लोकप्रिय चाड यःमरि पुन्हि अर्थात धान्य पूर्णिमाको भोली पल्ट मनाइने गर्दछ ।
पुन्हि भन्नाले नेपालभाषामा पूर्णिमा हो, त्यसको भोली पल्ट, ‘पारु’ भन्नाले प्रतिपदा बुझिन्छ। मतिना भनेको माया हाे ।
मतिना पारु योमरी पुन्ही सँग सम्बन्धित छ । लोकप्रिय परिकार यःमरिको चर्चा हुँदै गर्दा यसको वातावरण, मौसम र स्वास्थ्य सँगको सम्बन्ध पनि मजबुद रहेकाे छ ।
यःमरि पुन्हिका दिन टोल टोलमा गएर ‘यःमरि फ्वनेगु’ परम्परा अनुसार यःमरि माग्दै जाने क्रममा आफ्नो प्रेमी खोज्ने र प्रेमी सँग सुटुक्क कुरा गर्ने चलन थियो। यसै क्रममा यःमरि पुन्हिकै दिन भेट्न आउने कुराकानी राखेर फर्कनेहरू त्यसको भोलीपल्ट भेट्ने गर्दछन्।
परम्परागत समाजमा अहिले जस्तो माया प्रेमका विषयमा समाज खुल्ला थिएन। समाज खुल्ला नभएकै कारण केटा र केटीबीच कुराकानी गर्ने माध्यमकाे रूपमा मतिना पारु मनाइने गरिन्छ । अहिले जस्तो सञ्चारमा खुल्ला नभएकाे त्यसबेलाकाे समाजमा यःमरि फ्वनेगु क्रममा सुटुक्क भेटी मायाँ पिरती साट्ने चलनकाे रूपमा विकसित भएकाे थियाे ।