काठमाडौँ महानगरद्वारा ‘टोल टोलमा फिल्म महोत्सव’ आयोजनाको घोषणा : असार ५ गतेदेखि सुरु हुने

काठमाडौँ, असार १ । काठमाडौँ महानगरपालिकाले स्थानीय स्तरमा चलचित्र संस्कृतिको प्रवर्धन र रचनात्मक उद्यमशीलता विकास गर्ने उद्देश्यले आगामी असार ५ गतेदेखि ‘टोल टोलमा फिल्म महोत्सव’ आयोजना गर्ने भएको छ । आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा महोत्सवको आधिकारिक संकेत चिन्ह (लोगो) सार्वजनिक गर्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले यसबारे विस्तृत जानकारी दिनुभएको हो ।

आगामी असार २६ गतेसम्म हरेक शुक्रबार र शनिबार सञ्चालन हुने यस महोत्सवका क्रममा महानगरभित्रका सार्वजनिक स्थल, पार्क, डबली तथा चोकहरूमा लघु चलचित्र (सर्ट फिल्म) प्रदर्शन गरिनेछ । प्रदर्शनका साथै चलचित्र, कला र सिर्जनात्मक उद्योगका विविध विषयमा संवाद तथा सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना हुने महानगरले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, “समुदायमा रहेका रचनात्मक सीपलाई उद्यम र उद्योगका रूपमा विकास गर्न यो पहल थालिएको हो । आगामी आर्थिक वर्षमा आयोजना गरिने अन्तर्राष्ट्रिय फिल्म महोत्सवको पूर्वतयारी स्वरूप यो कार्यक्रम अघि बढाइएको हो ।” महोत्सवका लागि निफ, किम्फ र मानव अधिकार फिल्म फेस्टिभल जस्ता स्थापित संस्था तथा चलचित्र क्षेत्रका पेशाकर्मीहरूसँग सहकार्य गरिएको उहाँले बताउनुभयो ।

महोत्सव असार महिनाभरि ८ वटा विभिन्न स्थानमा सञ्चालन हुनेछ । कार्यक्रमको व्यवस्थापन स्थानीय संघसंस्थाहरूलाई दिइनेछ, जसका लागि महानगरले सार्वजनिक सूचनामार्फत ८ वटा संस्था सूचीकृत र ३ वटा वैकल्पिक संस्था छनोट गरिसकेको छ ।

पत्रकार सम्मेलनमा महानगरका प्रवक्ता नवीन मानन्धरले नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारमा यो महोत्सवले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । “काठमाडौँ महानगरपालिकाले २०८० कात्तिक १४ गते युनेस्को ‘क्रियटिभ सिटीज नेटवर्क’ मा फिल्म विधाबाट सदस्यता प्राप्त गरेसँगै यस क्षेत्रलाई रचनात्मक उद्यमसँग जोडेर काम सुरु गरिएको हो,” उहाँले भन्नुभयो ।

प्रवक्ता मानन्धरका अनुसार यो अभियानले अन्तर्राष्ट्रिय संस्कृति, विचारको आदानप्रदान, समावेशी समाज निर्माण र सिर्जनात्मक अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्नेछ । महोत्सवका लागि आवश्यक एलईडी स्क्रिन, साउन्ड सिस्टम र क्युरेटर लगायतका प्राविधिक सहयोग महानगरको सम्पदा तथा पर्यटन विभागले उपलब्ध गराउनेछ ।

यस कार्यक्रम अन्तर्गत भविष्यमा चलचित्र विषय अध्ययन हुने शैक्षिक संस्थाहरूसँग समन्वय गर्ने, प्रतिभाहरूलाई प्रोत्साहन गर्ने, अनुसन्धान फेलोसिप प्रदान गर्ने र सीमान्तकृत समुदायका लागि छात्रवृत्ति दिने जस्ता दूरगामी योजनाहरू समेत राखिएको छ । साथै, मौलिक संस्कार र संस्कृतिको प्रवर्धन गर्दै स्थानीयवासीको आय वृद्धिमा जोड दिने महानगरको लक्ष्य रहेको छ ।

उक्त पत्रकार भेटघाट कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, सहरी योजना आयोगका सदस्यहरू डा. सुरज काफ्ले र बाबुराम भट्टराई, सम्पदा तथा पर्यटन विभागकी प्रमुख कुमारी राई लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।