विश्वकपमा रंगभेदको विवाद: ‘वाइट सुप्रिमेसिस्ट’ संकेत देखाएको भन्दै अस्ट्रेलियन भार अधिकारीलाई हटाउन माग

 

ड्यालस (एजेन्सी) । विश्वकप २०२६ मा भिडियो असिस्टेन्ट रेफ्री (VAR) को भूमिकामा रहेका अस्ट्रेलियन अधिकारी शन इभान्समाथि रंगभेदको आरोप लागेपछि उनलाई प्रतियोगिताबाट हटाउन माग गरिएको छ। जर्मनी र कुरासाओ बीचको खेलअघि क्यामेरामा नश्लभेदी मानिने ‘ओके’ संकेत देखाएको भन्दै उनी विवादमा तानिएका हुन्।

फिफाको रंगभेद विरोधी अनुगमन निकाय ‘फेयर नेटवर्क’  ले इभान्सले नियो-नाजी र श्वेत सर्वोच्चता  झल्काउने संकेत गरेको भन्दै उनलाई तुरुन्त बर्खास्त गर्न फिफालाई आग्रह गरेको छ।

के थियो घटना?
आइतबार ह्युस्टनमा भएको जर्मनी र कुरासाओ बीचको खेल सुरु हुनुअघि प्रत्यक्ष प्रसारणमा ड्यालसस्थित ब्रोडकास्ट सेन्टरमा रहेका भार टोलीलाई देखाइएको थियो। सोही क्रममा इभान्सले आफ्नो दाहिने खुट्टाको अगाडि हात लगेर बुढी औंला र चोर औंला जोड्दै ‘ओके’ संकेत देखाएका थिए।

सन् २०१९ मा न्यूयोर्कस्थित ‘एन्टी-डिफेमेसन लिग’  ले यो संकेतलाई घृणा फैलाउने र श्वेत जातिय श्रेष्ठता प्रदर्शन गर्ने प्रतीकको रूपमा सूचीकृत गरेको थियो।

फेयर नेटवर्कको कडा आपत्ति
फिफा र यूईएफएको लामो समयदेखिको साझेदार संस्था फेयर नेटवर्कले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हाम्रा विज्ञहरूको सल्लाह अनुसार यो संकेत स्पष्ट रूपमा दक्षिणपन्थी समूहहरूले प्रयोग गर्ने ‘वाइट पावर’ को प्रतीक हो। यस्ता अधिकारीलाई विश्वकप जस्तो गरिमामय प्रतियोगितामा कुनै स्थान हुनुहुँदैन।”

इभान्सले जानाजानी क्यामेरामा हेरेर यो संकेत गरेको भन्दै संस्थाले यसलाई “नियो-नाजी” व्यवहारको संज्ञा दिएको छ।

ठट्टा कि गम्भीर अपराध?
यद्यपि, केहीले इभान्सले बालबालिकामाझ लोकप्रिय ‘सर्कल गेम’  मार्फत ठट्टा मात्र गरेको हुन सक्ने लख काटेका छन्। यो खेलमा कम्मरभन्दा मुनि यस्तो संकेत बनाएर कसैलाई हेर्न बाध्य पारिन्छ र हेर्नेलाई जिस्क्याइन्छ। तर, विगत एक दशकदेखि यो संकेतलाई अनलाइन माध्यमबाट कट्टरपन्थी समूहहरूले आफ्नो पहिचानको रूपमा प्रयोग गर्दै आएका छन्।

विशेषज्ञहरूका अनुसार यस्ता संकेतहरूको अर्थ सन्दर्भ  मा निर्भर गर्दछ। तर विश्वकप जस्तो विश्वव्यापी मञ्चमा यस्तो विवादास्पद व्यवहार प्रदर्शन गर्नुलाई गम्भीर मानिएको छ।

फिफाको मौनता र प्रसारणमा परिवर्तन
यस विषयमा अल जजिराले फिफा र फुटबल अष्ट्रेलियासँग प्रतिक्रिया मागे पनि हालसम्म कुनै आधिकारिक जवाफ आएको छैन।

यसैबीच, यो घटनापछि भएका अन्य खेलहरूमा टेलिभिजन निर्देशकहरूले भार  टोलीको परिचय दिने दृश्य देखाउन बन्द गरेका छन्। इभान्स विश्वकपका लागि छनोट भएका ३० भिडियो रिभ्यु एनालिस्टमध्ये एक हुन्।

अहिले विश्वभरका फुटबल प्रेमी र मानव अधिकारकर्मीहरूले यो मुद्दामा फिफाले चाल्ने कदमलाई चासोका साथ हेरिरहेका छन्।(सोतः अलजाजीरा तथा अन्तराष्ट्रिय न्यूज एजेन्सी)