धुलिखेल–खावा सडकको ठेक्का रद्द

काभ्रेपलाञ्चोक, १५ फागुन । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द भएको छ। सडक डिभिजन कार्यालय भक्तपुरले आज सार्वजनिक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो। कार्यालयले मंगलबार गरेको निर्णय अनुसार यो कदम चालिएको हो।

२० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँमा गौरी पार्वती निर्माण सेवा प्रालिले २०७९ जेठ २० गते यो सडक २०८० चैत १९ गतेभित्र बनाइसक्ने गरी ठेक्का पाएको थियो। तर, निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेपछि तोकिएको समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि काम पूरा हुन सकेन।

सडकको काम अलपत्र परेको भन्दै स्थानीयले गुनासो गरेपछि संसदको पूर्वाधार समितिले समेत अनुगमन गरेको थियो। सडक डिभिजन कार्यालयले पटक-पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम नगरेपछि माघ १९ गते स्पष्टीकरण सोधेको थियो। तर, कम्पनीको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि ठेक्का रद्द गर्ने निर्णयमा पुगेको कार्यालयले जनाएको छ।

सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशका अनुसार अब एक/दुई हप्ताभित्रै नयाँ ठेक्का प्रक्रिया सुरु हुनेछ। “भौतिक र वित्तीय प्रगतिको आधारमा हेरफेर हुनसक्छ,” उनले भने। हालसम्म २५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ।

धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटिङको काम भएको छ, केही ठाउँमा नाली र ड्रेन-वाल बनाइएको छ। तर, जिपलाइनदेखि खावासम्मको सडक भत्काएर अलपत्र छाडिएको छ भने एक किलोमिटर भागमा कटिङको काम नै बाँकी छ।

दुई वर्षदेखि यो सडकखण्डमा यात्रा गर्ने यात्रुहरूले सास्ती खेप्दै आएका छन्। सडक निर्माणको काम समयमा नहुँदा दुर्घटनाको जोखिम बढेको छ। जीर्ण सडकलाई १२ मिटर फराकिलो बनाएर कालोपत्रे गर्ने योजना थियो।

यो सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई ध्यानमा राखेर नेपालमा पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने र दुई चरणमा कालोपत्रे गर्ने योजना बनाइएको थियो। अरनिको राजमार्ग हुँदै चीनको तातोपानी नाका, दोलखा र रामेछाप पुग्ने मुख्य सडक यही हो।