इरान युद्धको केन्द्रमा इन्टरपोलले खोजिरहेका कट्टरपन्थी जर्नेल: को हुन् अहमद वाहिदी?

 

तेहरान (एजेन्सी), , ९ जेष्ठ ।  इरान र अमेरिकाबीच युद्धको बादल मडारिइरहेका बेला तेहरानको आगामी रणनीतिका मुख्य योजनाकारका रूपमा एक विवादास्पद सैन्य कमाण्डरको उदय भएको छ। उनी हुन्— ब्रिगेडियर जनरल अहमद वाहिदी। वाहिदी त्यस्ता कमाण्डर हुन् जो अमेरिकाद्वारा प्रतिबन्धित छन् र तीन दशकअघि अर्जेन्टिनामा भएको बम विष्फोटको आरोपमा इन्टरपोलको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका छन्।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायली हवाई आक्रमणमा परि तत्कालीन कमाण्डर मोहम्मद पाकपोर मारिएपछि वाहिदीले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) को कमाण्ड सम्हालेका थिए। विज्ञहरूका अनुसार वाहिदी आफ्ना पूर्ववर्ती पाकपोरभन्दा पनि बढी कट्टर र अमेरिकासँगको सम्झौताका कट्टर विरोधी मानिन्छन्।

इन्टरनेशनल क्राइसिस ग्रुपका इरान प्रोजेक्ट डाइरेक्टर अली वाएज भन्छन्, “वाहिदी एक प्रभावशाली पात्र हुन्। इरानमा निर्णयहरू सामूहिक सहमतिमा गरिन्छ र त्यहाँ वाहिदीको आवाज निकै शक्तिशाली छ।”

नेतृत्व परिवर्तन र बढ्दो तनाव
अमेरिकी र इजरायली प्रयासहरूले इरानी नेतृत्वलाई कमजोर बनाउने लक्ष्य राखे पनि वाहिदीको उदयले झन् कट्टरपन्थी धार बलियो भएको देखिएको छ। वाहिदीको नेतृत्वमा IRGC ले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग (चेकप्वाइन्ट) मा अवरोध सिर्जना गरेको छ।

इजरायली सैन्य गुप्तचर निकायका पूर्व प्रमुख ड्यानी सिट्रिनोविजका अनुसार वाहिदी एक ‘अत्यन्तै प्रभुत्वशाली’ र ‘क्रान्तिकारी सिद्धान्त’ मा अडिग व्यक्ति हुन्। उनले सीएनएनसँग भने, “इरानमा अहिले उनीबिना कुनै पनि सहमति सम्भव छैन। यदि हाम्रा सर्तहरू मानिँदैनन् भने युद्धका लागि तयार छौँ भन्ने धारको नेतृत्व उनले गरिरहेका छन्।”

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै यदि सम्झौता नभए फेरि आक्रमण गर्ने धम्की दिएका छन्। बुधबार ह्वाइट हाउसमा पत्रकारहरूसँग बोल्दै ट्रम्पले भने, “कि त सम्झौता हुनेछ, कि त हामी केही गम्भीर कदम चाल्नेछौँ।”

वाहिदीको चेतावनी: ‘आगोको ज्वाला सीमापार पुग्नेछ’
ट्रम्पको धम्कीको जवाफ दिँदै जनरल वाहिदीले सामाजिक सञ्जाल ‘X’ मार्फत कडा चेतावनी दिएका छन्। उनले लेखेका छन्, “यदि इरानी माटोमा थप आक्रमण भयो भने, अहिलेसम्म क्षेत्रीय युद्धमा सीमित रहेको आगो यसपटक ज्वाला बनेर सबै सीमाहरू नाघ्नेछ। तपाईंहरूले विनाशकारी प्रहार खेप्नुपर्नेछ।”

विवादास्पद पृष्ठभूमि र ‘वान्टेड’ सूची
सन् १९५८ मा शिराजमा जन्मिएका वाहिदीको सम्पूर्ण जीवन सैन्य र रणनीतिक क्षेत्रमा बितेको छ। सन् १९७९ को इस्लामिक क्रान्तिपछि उनी सुरक्षा संयन्त्रमा सक्रिय भएका थिए। उनी इरानको कुद्स फोर्सका पहिलो कमाण्डर समेत हुन्।

वाहिदीमाथि सन् १९९४ मा अर्जेन्टिनाको ब्युनस आयर्सस्थित एक यहुदी सामुदायिक केन्द्रमा बम विष्फोट गराएको आरोप छ, जसमा ८५ जनाको ज्यान गएको थियो। सोही कारण इन्टरपोलले उनलाई खोजी गरिरहेको छ।

यसबाहेक, सन् २०२२ मा महसा अमिनीको मृत्युपछि भएको प्रदर्शनलाई दमन गरेको आरोपमा अमेरिकाले उनीमाथि प्रतिबन्ध लगाएको थियो। इरानका रक्षा मन्त्री र आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका वाहिदीलाई इरानी राजनीतिमा पर्दा पछाडिका शक्तिशाली खेलाडी मानिन्छ।

विज्ञहरूका अनुसार इरानले हालसम्म वासिङ्टनसामु झुक्ने वा आत्मसमर्पण गर्ने कुनै संकेत देखाएको छैन। आणविक संवर्द्धन र सैन्य रणनीतिका मुद्दामा इरानले आफ्नो अडान झन् कडा बनाएको छ, जसको पछाडि वाहिदीको मुख्य भूमिका रहेको विश्वास गरिन्छ।