सङ्खुवासभाको मकालुमा पहिरोले भेडीगोठ पुरियो: २१८ भेडा बेपत्ता, एक जना घाइते
काठमाडौँ, जेठ ९ । सङ्खुवासभाको मकालु गाउँपालिका-५ स्थित माङ्सिमाको फोक्टेमा आज बिहान गएको पहिरोले एक भेडीगोठ बगाउँदा ठूलो संख्यामा पशुधनको क्षति भएको छ। वर्षासँगै अचानक आएको पहिरोमा पुरिएर स्थानीय दलबहादुर गुरुङका २१८ वटा भेडा बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारप्रसाद मैनालीका अनुसार, गुरुङको गोठमा रहेका कुल २५० भेडामध्ये २१८ वटा पहिरोमा पुरिएका हुन् । घटनामा ३२ वटा भेडालाई मात्र जीवितै फेला पार्न सकिएको छ ।
पहिरोमा परी भेडा गोठालाको रूपमा कार्यरत स्थानीय २० वर्षीय झलक गुरुङ घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। गोठमा रहेका अर्का ३० वर्षीय गोठाला कमल गुरुङ भने सकुशल रहेका छन् ।
घटनास्थल अत्यन्तै दुर्गम र विकट क्षेत्रमा रहेका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ । सदरमुकामबाट टाढा रहेको नुम प्रहरी चौकीबाट घटनास्थल पुग्न करिब ४० किलोमिटरको दूरी पार गर्नुपर्ने र झण्डै १० घण्टाको पैदल यात्रा तय गर्नुपर्ने प्रहरीले जनाएको छ ।
घटनाको जानकारी लगत्तै नुम प्रहरी चौकीबाट प्रहरी टोली र स्थानीय बासिन्दा उद्धार तथा खोजी कार्यका लागि घटनास्थलतर्फ प्रस्थान गरिसकेका छन्। भौगोलिक विकटताका कारण क्षतिको थप विवरण आउन समय लाग्ने देखिएको छ ।