‘नेपालका सङ्ग्रहालय सांस्कृतिक एकताका केन्द्र बन्दै’ : विज्ञ

काठमाडौँ, ९ जेठ । नेपालका सङ्ग्रहालयहरू राष्ट्रिय र सांस्कृतिक एकताको केन्द्रका रूपमा स्थापित हुँदै गएका छन् । ‘अन्तरराष्ट्रिय सङ्ग्रहालय दिवस’ को अवसरमा नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति र इन्टरनेशनल काउन्सिल अफ म्युजियम नेपाल (आइकम नेपाल) द्वारा आयोजित कार्यक्रमका सहभागी विज्ञहरूले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख डा. सुरेशसुरस श्रेष्ठले नेपालमा सङ्ग्रहालयको विकास र वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभयो। उहाँले पाँचौँ शताब्दीदेखिका अभिलेखहरूले नेपालमा कुनै विभेद नभएको तथ्य पुष्टि गर्ने बताउँदै सांस्कृतिक कूटनीतिका दृष्टिले सङ्ग्रहालयको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो । पाटन, लुम्बिनी र तारागाउँ जस्ता सङ्ग्रहालयले नेपालको ऐतिहासिक र सांस्कृतिक विरासतलाई एकताको सूत्रमा बाँध्न सफल भएको उहाँको भनाइ थियो ।

यसैगरी, गोरखाको चुम नुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले वि.सं. १९७७ देखि नै अहिंसा क्षेत्र घोषणा भएको चुम नुब्री उपत्यका आफैँमा एक ‘प्राकृतिक सङ्ग्रहालय’ भएको बताउनुभयो । स्थानीय सरकारले सांस्कृतिक सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

नेपालका लागि युनेस्कोका आवासीय प्रतिनिधि याको दु तोइले विविधतालाई नेपालको मुख्य सौन्दर्य मान्दै उक्त विविधताको व्यवस्थापन र संरक्षणमा सङ्ग्रहालय उपयुक्त माध्यम हुने विचार व्यक्त गर्नुभयो। आइकम नेपालका कोषाध्यक्ष ओमप्रकाश घिमिरेले अमूर्त संस्कृतिलाई सङ्ग्रहालयसँग जोडेर लैजानुपर्नेमा जोड दिनुभयो ।

गुठी संस्थानका अभिलेख शाखा प्रमुख राजेन्द्र दाहालले संस्थानले काठमाडौँको भद्रकालीमा निर्माणाधीन भवनमा छिट्टै ‘गरगहना सङ्ग्रहालय’ स्थापना गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

विश्वभरका १५८ देशका करिब ३७ हजार सङ्ग्रहालयहरूले यस वर्ष ‘सङ्ग्रहालय : विभाजित विश्व–एकताको शक्ति’ भन्ने नाराका साथ यो दिवस मनाएका छन्। नेपालमा सङ्ग्रहालय स्थापनाको १०० वर्ष पुग्न लाग्दा पनि युवा पुस्तालाई संस्कृतिप्रति आकर्षित गर्नु र सम्पदाको वैज्ञानिक संरक्षण गर्नु मुख्य चुनौतीका रूपमा रहेको कार्यक्रममा औँल्याइएको छ ।

सोही अवसरमा आइकम नेपालद्वारा प्रकाशित अनुसन्धानमूलक ‘सङ्ग्रहालय जर्नल’ को समेत लोकार्पण गरिएको थियो। जर्नलका सम्पादक डा. मधुसुदन न्यौपानेले आगामी दिनमा यसलाई अझ परिष्कृत र अनुसन्धानमूलक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रत्येक वर्षको १८ मे मा विश्वभर अन्तरराष्ट्रिय सङ्ग्रहालय दिवस मनाइने गरिन्छ ।