सात प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालयका १३ अधिकारीहरूको सरुवा

काठमाडौं, ६ चैत्र । गृहमन्त्रालयले सात जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित १३ जना अधिकारीहरूको सरुवा गरेको छ।

गृहमन्त्री रमेश लेखकले बुधबार गरेको निर्णय अनुसार सहसचिव र उपसचिव स्तरका कर्मचारीहरूको सरुवा भएको हो।

सरुवा हुने सीडीओहरूमा कपिलवस्तुका शिवप्रसाद अधिकारी, सुर्खेतका शंकरहरि आचार्य, नवलपरासी पूर्वका अरुण पोखरेल, बागलुङका नेत्रप्रसाद सुवेदी, अछामका शिवप्रसाद लम्साल र पर्वतका केदारनाथ शर्मा रहेका छन्।

उनीहरूलाई गृह मन्त्रालयमा सरुवा गरिएको हाे । त्यस्तै, गृह मन्त्रालयमा कार्यरत सहसचिव दिलकुमार तामाङलाई कपिलवस्तु, जगदिश्वर उपाध्यायलाई सुर्खेत, भविश्वर पाण्डेलाई नवलपरासी पूर्व, कुमानसिंह गुरुङलाई बागलुङ र आनन्द सारुलाई अछामको सीडीओको जिम्मेवारी दिइएको छ।

यसैगरी प्रेमप्रसाद लुइँटेललाई उदयपुरको सीडीओ बनाएर पठाइएको छ। सीडीओको जिम्मेवारी पाउने अधिकांश सहसचिवहरू भर्खरै बढुवा भएका हुन्।