प्रतिनिधिसभा बैठकमा शिक्षक आन्दोलनको मुद्दा प्रमुख, अन्य विषय पनि उठे

काठमाडौँ, १६ वैशाख । प्रतिनिधिसभाको आजको बैठक विपक्षी सांसदहरुको विरोधका बीच सुरु भएको छ। बैठकको प्रारम्भमै विपक्षीहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिनुभयो।

सांसद पाण्डेले लामो समयदेखि सडकमा रहेका शिक्षकहरुको आन्दोलन र उनीहरुका जायज मागबारे सोमबार संसद्मा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि तत्काल छलफल हुनुपर्नेमा जोड दिनुभयो। उहाँले यस विषयमा छलफल गरी समाधान खोज्न सभामुखमार्फत ‘रुलिङ’ को माग गर्नुभयो।

यसैगरी, एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकार आन्दोलनरत शिक्षकका मागप्रति गम्भीर रहेको दाबी गर्दै शिक्षामन्त्रीले निरन्तर वार्ता गरिरहेको जानकारी दिनुभयो। उहाँले वार्ताबाटै समस्या टुङ्ग्याउनुपर्ने र आज साँझसम्म निकास निस्कनेमा आशावादी रहेको बताउनुभयो।

बैठकमा अन्य सांसदहरुले पनि समसामयिक विषयमा ध्यानाकर्षण गराए। सांसद प्रेम आलेले पोखरा र भैरहवा विमानस्थलमा भएको भनिएको आर्थिक हिनामिनाको निष्पक्ष छानबिन गर्न माग गर्नुभयो। सांसद शोभा ज्ञवालीले देशका विभिन्न स्थानमा बढ्दो जङ्गली जनावरको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै समाधान खोज्न आग्रह गर्नुभयो भने सांसद ज्ञानबहादुर शाहीले पनि शिक्षक समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो।

आजको बैठकको कार्यसूचीमा शिक्षा मन्त्री रघुजी पन्तले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’, अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८०’ र कानून मन्त्री अजय कुमार चौरसियाले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०’ माथि छलफल तथा पारितका लागि प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।