अहिले अधिनायकवाद भन्नेलाई जेल-नेल थाहा छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई अधिनायकवादी भन्नेहरूलाई वास्तविक अधिनायकवाद, जेल, हत्कडी र कालकोठरीबारे अनुभव नभएको भन्दै कडा टिप्पणी गर्नुभएको छ ।

विपी कोइराला राष्ट्रिय पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले अहिले सामान्य चित्त नबुझ्नेबित्तिकै ‘अधिनायकवाद’ भन्ने प्रवृत्ति बढेको तर वास्तविक पीडा भोग्ने आफू र विपी कोइरालाजस्ता नेताहरूलाई मात्र त्यसको अर्थ थाहा हुने बताउनुभयो । “अधिनायकवाद कस्तो हुन्छ भन्ने कुरा त्यसबेला भोग्ने विपीहरू र हामीहरूलाई थाहा छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “अहिले प्रजातन्त्र आएको छ, सजिलो भएको छ ।”

उहाँले नेपालको राजनीतिक परिवर्तनका लागि कांग्रेस र कम्युनिस्टले सँगसँगै कठिन संघर्ष र बलिदान दिएको स्मरण गर्नुभयो । प्रधानमन्त्री ओलीले विपी कोइराला र पुष्पलाल श्रेष्ठजस्ता नेताहरू कुनै दल विशेषको मात्र नभई देशकै साझा नेता र प्रेरणाको स्रोत भएको बताउनुभयो ।

नेपाल सरकारले वि.सं. २०७७/७८ को नीति तथा कार्यक्रममार्फत राजनीति र साहित्यमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्न ‘विपी कोइराला राष्ट्रिय पुरस्कार’ स्थापना गरेको थियो । सोही पुरस्कार वितरण कार्यक्रममा प्रधानमन्त्रीले उक्त धारणा राख्नुभएको हो ।