सुनको मूल्य २,३०० रुपैयाँले वृद्धि, तोलाको २ लाख नजिक

काठमाडौँ, ८ भदौ। साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा उछाल आएको छ। गत शुक्रबारको तुलनामा आज सुनको भाउ तोलामा २,३०० रुपैयाँले बढेको छ भने चाँदी पनि महँगिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुनको मूल्य प्रति तोला १ लाख ९७ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। यो मूल्य शुक्रबारको तुलनामा २,३०० रुपैयाँले बढी हो। गत शुक्रबार सुन प्रति तोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्यमा पनि प्रति तोला ४० रुपैयाँले वृद्धि भएको छ। शुक्रबार २,३१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २,३५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको वृद्धिको प्रभाव स्थानीय बजारमा परेको व्यवसायीहरू बताउँछन्।