युद्धपछिको गाजाबारे ‘बृहत् योजना’ बनाउन ट्रम्पले बोलाए ह्वाइट हाउसमा महत्त्वपूर्ण बैठक
एजेन्सी, ११ भदाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धपछिको गाजाको व्यवस्थापनका लागि एक ‘बृहत् योजना’ तयार पार्न ह्वाइट हाउसमा महत्त्वपूर्ण बैठकको अध्यक्षता गर्ने भएका छन्। अमेरिकी विशेष दूत स्टिभ विटकफले बुधबार बस्ने उक्त बैठकबारे जानकारी दिएका हुन्, जसमा गाजाको भविष्यबारे विस्तृत छलफल हुनेछ।
यो पहिलो पटक हो जब अमेरिकी प्रशासनले युद्धपछिको गाजाका लागि यस्तो कुनै योजना रहेको सार्वजनिक रूपमा स्वीकार गरेको छ। फक्स न्युजसँगको अन्तर्वार्तामा विटकफले भने, “यो योजना कति बलियो र मानवीय उद्देश्यले प्रेरित छ भन्ने धेरैले देख्नेछन्। यसले राष्ट्रपति ट्रम्पको दृष्टिकोणलाई प्रतिबिम्बित गर्छ।”
बैठकको घोषणासँगै विटकफले युद्धविराम र बन्धक रिहाइ सम्झौतामा ट्रम्प प्रशासनको अडान पनि दोहोर्याएका छन्। उनका अनुसार, अमेरिका आंशिक बन्धक सम्झौताको विपक्षमा छ। यसअघि राष्ट्रपति ट्रम्पले पनि “हमासलाई पूर्ण रूपमा ध्वस्त पारेपछि मात्र सबै बन्धकहरूलाई मुक्त गर्नुपर्ने” भन्दै चरणबद्ध सम्झौताप्रति असहमति जनाइसकेका छन्।
हमासले अगस्ट १८ मा मध्यस्थकर्ताहरूको ६० दिने युद्धविराम प्रस्ताव स्वीकार गरे पनि अमेरिकाले त्यसलाई शंकास्पद नजरले हेरेको छ। विटकफले सम्झौतामा ढिलाइ हुनुको दोष हमासलाई लगाउँदै भने, “इजरायलीहरूको तीव्र दबाबका कारण मात्र हमासले अहिले यो प्रस्ताव स्वीकार गरेको हो।” यद्यपि, इजरायलले यो सम्झौता स्वीकार गर्ने वा नगर्नेबारे उनले केही खुलाएनन्। इजरायलले हालसम्म सम्झौतालाई अनुमोदन गरेको छैन र हमासलाई समाप्त पार्ने लक्ष्यसहित आफ्नो स्थलगत सैन्य अभियान जारी राखेको छ।
यसैबीच, गाजामा इजरायली आक्रमणबाट उत्पन्न मानवीय संकट थप गहिरिएको छ। सोमबार बिहानयता भएका आक्रमणमा कम्तीमा ६१ प्यालेस्टाइनीको मृत्यु भएको छ, जसमा खाद्यान्न सहायताको खोजीमा रहेका सात जना पनि परेका छन्। गाजाको नागरिक सुरक्षा निकायका अनुसार, अगस्ट ६ देखि इजरायली सेनाले गाजा सहरमा करिब एक हजार भवन ध्वस्त पारेको छ। भग्नावशेषमा सयौँ मानिस फसेको अनुमान छ, तर निरन्तरको गोलाबारीले उद्धार कार्यमा गम्भीर बाधा पुगेको छ।