२०औँ एसियाली खेलकुद (एसियन गेम्स) को जापानमा आज भव्य उद्घाटन: नेपालका १३५ खेलाडी प्रतिस्पर्धा गर्दै
काठमाडौँ, ३ असोज । जापानमा आयोजना भइरहेको २०औँ एसियाली खेलकुद (एसियन गेम्स) को आज औपचारिक उद्घाटन हुँदैछ। नागोया सहरस्थित मिजुहो पार्क एथलेटिक्स स्टेडियममा स्थानीय समयअनुसार साँझ ६ बजे एक विशेष समारोहका बिच प्रतियोगिताको औपचारिक उद्घाटन गरिन लागिएको हो।
औपचारिक उद्घाटन आज हुन लागे पनि केही खेलहरू भने अघि नै सुरु भइसकेका छन्। जापानको एइची प्रिफेक्चर (नागोया) सहित गिफु, शिजुओका, टोकियो र ओसाकाका विभिन्न सहरहरूमा खेल प्रतियोगिताहरू सञ्चालन भइरहेका छन्।
३२ वर्षपछि जापानमा फर्कियो एसियाली खेलकुद
जापानले तेस्रो पटक एसियाली खेलकुदको आयोजनाको जिम्मेवारी पाएको हो। यसअघि जापानले सन् १९५८ र १९९४ मा एसियन गेम्स सफलतापूर्वक आयोजना गरिसकेको छ।
३२ वर्षपछि जापानमा आयोजना भइरहेको यस २०औँ संस्करणमा ४३ खेलका ७१ विधाअन्तर्गत ४६९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा एसियाली राष्ट्रहरूबाट करिब १७ हजार खेलाडी तथा पदाधिकारीहरू (अफिसियल) सहभागी छन्। खेलाडीहरूलाई बस्नका लागि होटल तथा क्रुजको प्रबन्ध गरिएको छ।
यसपटक मिक्स्ड मार्सल आर्ट्स, प्याडेल, सर्फिङ, भर्चुअल तेक्वान्दो र टेकबललाई नयाँ खेलका रूपमा समावेश गरिएको छ भने ई-स्पोर्ट्स र ब्रेकिङले पनि स्थान पाएका छन्।
नेपालबाट २१ खेलमा १३५ खेलाडी मैदानमा
२०औँ एसियन गेम्समा नेपालका तर्फबाट २१ विभिन्न खेलमा १३५ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्दैछन्, जसमा ५७ महिला र ७८ पुरुष खेलाडी रहेका छन्। खेलाडीसँगै २९ जना प्रशिक्षक, १७ व्यवस्थापक र २ जना खेल प्राविधिकसमेत जापान पुगेका छन्।
नेपालले आर्चरी (२), एथलेटिक्स (६), ब्याडमिन्टन (४), बक्सिङ (७), क्रिकेट (१५), साइक्लिङ (२), गल्फ (४), जुडो (६), कबड्डी (२४), कराते (८), र्याफ्टिङ एन्ड क्यानोइङ (२), स्केट एन्ड स्केट बोर्डिङ (२), सफ्ट टेनिस (४), स्क्वास (२), पौडी (५), टेबलटेनिस (६), तेक्वान्दो (३), टेनिस (५), भलिबल (१२), कुस्ती (६) र उसु (१०) मा सहभागिता जनाएको छ।
यद्यपि, नेपालको महिला भलिबल टोली भने उद्घाटनअघि नै सम्पन्न खेलहरूबाट पदकको होडबाट बाहिरिसकेको छ।
