विकसित राजनीतिक घटना क्रमको विश्लेषणमा नेकपा एमाले

एमाले सचिवालय बैठक आइतबार बस्ने : आजको बैठक स्थगित

काठमाडौँ, असोज २५ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठक स्थगन गरिएको हो । अब बैठक आइतबार बिहान ११:०० बजे अध्यक्ष ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बस्नेछ ।

आइतबारको बैठकमा शुक्रबार बोल्न बाँकी रहेका सचिवालय सदस्यहरूले मुलुकको समसामयिक राजनीतिक विषयमा आआफ्नो धारणा राख्नेछन् । उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल, तथा सचिवहरू योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, गोकर्ण विष्ट, रघुजी महासेठ र लेखराज भट्टले पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो विचार प्रस्तुत गर्नेछन् । एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २९ देखि ३१ गतेसम्म काठमाडौँमा बस्ने कार्यक्रम छ ।